राप्रपाको कार्यसम्पादन समिति बैठक बहिष्कार गर्दै महामन्त्रीद्वयको चार बुँदे प्रस्ताव


काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्तिकुमारी शाहीले आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउँदै उनीहरूले बैठक बहिष्कार गर्ने जानकारी गराएका हुन्। पार्टी सचिवालय स्रोतका अनुसार महामन्त्रीद्वयले पठाएको पत्रमा चारवटा ठूला प्रस्तावसमेत समावेश छन्। ती प्रस्तावहरूमा विधानबमोजिमको महाधिवेशन मिति तोक्ने, विधानविपरित निष्कासन तथा कारबाहीहरू फिर्ता गर्ने, निर्वाचन समिति र पर्यवेक्षक टोलीमा सन्तुलन कायम गर्ने र पूर्वअध्यक्षहरू समेत सहभागी हुने विवाद समाधान समिति गठन गर्ने सुझाव छन्।

महामन्त्रीद्वयले पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको उल्लेख गर्दै आफुहरूले त्यसका लागि निरन्तर प्रयास गरिरहेको पत्रमा जनाएका छन्। “पार्टीभित्र हामीबीच आन्तरिक एकता अत्यन्तै जरूरी छ। पार्टीको प्रभावकारिता ध्यानमा राखेर हामीले संवाद र सहकार्यका माध्यमबाट समाधान खोज्ने प्रयास गर्‍यौं,” पत्रमा उल्लेख छ, “तर, हाम्रो सदाशयतालाई कमजोरी ठानियो।” महामन्त्रीद्वयले पार्टीमा अध्यक्ष बाहेक अरू कसैको अस्तित्व नरहने वातावरण बनाइएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

उनीहरूका अनुसार, पार्टीको स्थापनाकालदेखि सक्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई फेसबुकबाट सूचना दिएर बेइज्जतीपूर्वक निष्कासन गरिएको, ४३ विभागमध्ये अधिकांशलाई निस्क्रिय राखिएको, र विधि मिचेर केन्द्रीय सदस्यहरू थपिँदै गएको छ। “यी सम्पूर्ण क्रियाकलापले पार्टी र आम जनताबीचको सम्बन्ध कमजोर बनाउँदै लगेको छ,” पत्रमा भनिएको महामन्त्रीद्वयले पार्टीको जनस्तरमा प्रभाव र उपस्थितिमा ह्रास आएको उल्लेख गर्दै जेनजी पुस्ताको सक्रियतामा भएको भदौ २३ र २४ गतेको परिवर्तनका श्रृङ्खलामा राप्रपाको भूमिका र उपस्थिति नदेखिएको बताएका छन्।

“देशको समग्र राजनीतिमा राप्रपाको प्रभाव र उपस्थिति कमजोर हुँदै गएको हामीले महसुस गरेका छौं,” उनीहरूको भनाइ छ। राप्रपा अध्यक्ष लिङ्देनले आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन्। बैठकमा सांगठनिक सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था, जिल्ला अधिवेशनको प्रगति, र पार्टी जीवनका विविध पक्षमा छलफल हुने जनाइएको छ। यता, महामन्त्रीद्वयले असोज २६ गते छुट्टै भेला गर्दै मंसिर १८ गतेभित्र नियमित महाधिवेशनको मिति तोक्नुपर्ने माग राखिसकेका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बैठक बहिष्कार गर्नु हास्यास्पद हुने प्रतिक्रिया दिएका छन्। “उहाँहरूले बैठक राख्नुपर्छ भनेर सार्वजनिक रूपमा आह्वान गर्नुभएको थियो, अब बैठक बस्दा सहभागी नहुनु त राम्रो देखिँदैन,” उनले भने। त्यस्तै, पूर्वसर्तका आधारमा बैठकमा नआउने प्रवृत्ति समस्याग्रस्त रहेको भन्दै उनले भने, “यदि पूर्वसर्तका कुरा गरिन्छ भने त्यो बैठकमै छलफल हुनुपर्ने हो। समस्या सिर्जना गर्ने र समाधान नचाहने प्रवृत्ति देखिएको छ।” महामन्त्री धवल शम्शेर राणा र कुन्तिकुमारी शाही २०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित भएका थिए। पछिल्लो समय पार्टीभित्र आन्तरिक खिचातानी चुलिँदै गएको छ।