काठमाडौं।
नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा आजबाट सुरु भएको छ। जेनजी विद्रोहपछि अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएको घटनाको सेरोफेरोमा पहिलोपटक बसेको केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे गहन छलफल हुने बताइएको छ।
बैठकमा केही बेरमै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारीमा छन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त प्रतिवेदनमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको, सरकार गठन प्रक्रियामा संविधान मिचिएको र प्रधानमन्त्रीले दलका शीर्ष नेताहरूसँग संवाद नगरेकोजस्ता गम्भीर विषय समावेश गरिएको छ।
त्यस्तै प्रतिवेदनमा निष्पक्ष निर्वाचनप्रति आशंका व्यक्त गर्दै शान्ति, अमनचयनको वातावरण अझै नबनेको उल्लेख छ। एमालेले संविधान र लोकतान्त्रिक गणतान्त्रिक पक्षधरहरूसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेण्डालाई सशक्त ढंगले अघि बढाउने तयारी पनि गरेको छ।
महाधिवेशनको मिति टुंगो लगाइने
केही दिनअघि सम्पन्न सचिवालय बैठकले ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। आज सुरु भएको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान टुंग्याउनेछ। साथै, राजनीतिक प्रस्ताव, नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन लगायतका विविध विषयमा पनि बैठकमा छलफल हुने एमाले स्रोतले जनाएको छ।
बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि क्षेत्रगत रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई तीन मिनेट समय दिइनेछ। तीन दिनसम्म चल्ने बैठकमा पार्टीको आगामी रणनीति, सांगठानिक सुदृढीकरण र निर्वाचन तयारीबारे समेत निर्णय गरिने बताइएको छ।











प्रतिक्रिया