महराको बयान सकियो, थुनछेक बहस बुधबार


काठमाडौँ।

भेपमा लुकाएर ल्याएको सुन बिमानस्थलको भन्सारबाट छुटाउन दवाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा मंगलबार बिहान १० बजेदेखि शुरू भएको बयान साँझ सकिएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अब थुनछेक बहस भोलि बुधबार हुनेछ । मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

संगठित अपराध र भन्सार ऐन बमोजिमको कसुर अन्तर्गत महराविरुद्ध पूरक अभियोगसहित मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा महरालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने वा धरौटी वा साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश थुनछेक बहसपछि हुनेछ ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।