लन्डन, (एजेन्सी)
अर्लिङ हालान्डको सानदार प्रदर्शनमा नर्वे २८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्न निकट रहेको छ । पछिल्लो पटक नर्वेले १९९८ को फ्रान्समा भएको विश्वकपमा सहभागिता जनाएको थियो । यसपछि भने ६ विश्वकप सम्पन्न हुँदा यो टोलीले विश्वकपमा यात्रा गर्न सकेको थिएन ।
युरोपेलीको छनोटअन्तर्गत शनिबार राति भएको खेलमा नर्वेले इजरायललाई ५–० ले हराएको हो । जसमा, हालान्डले ह्याट्रिकसमेत गरे । यसमध्ये दुई गोल भने आत्मघातीबाट प्राप्त भएको थियो । योसँगैं हालान्डले जारी विश्वकप युरोपेली छनोटमा ६ खेल खेल्दा सर्वाधिक १२ गोल गरिसके ।
हालान्डले म्यानचेस्टर क्लब र राष्ट्रिय टोली गरी १२ खेल खेल्दा उनले एक खेलमा मात्रै गोल गर्न सकेनन् । उनले अहिलेसम्म ४६ अन्तर्राष्ट्रिय खेलमा ५१ गोल गरिसकेका छन् । यो राष्ट्रका लागि ५० वा सोभन्दा बढी गोल गर्ने इतिहासकै सबैभन्दा छिटो खेलाडीसमेत उनी बनेका छन् ।
विश्वकपअन्तर्गत युरोपेली छनोटमा नर्वे समूह आई को शीर्ष टोली बनिरहेको छ । यस समूहमा चार पटकको विश्व विजेता टोली इटाली पनि रहेको छ । इटाली पनि इस्टोनियालाई ३–१ ले हराएर विश्वकपमा छनोट हुनेतिर अग्रसर रहेको छ । इटाली पछिल्ला दुई विश्वकपमा छनोट हुन सकेको थिएन ।
नर्वेले ६ खेलमै शतप्रतिशत नतिजा निकाल्दै १८ अंक जोडेको छ । एक खेल कम खेलेको इटालीसँग १२ अंक छ । यो समीकरणअनुसार नर्वेले एक खेल जितेमा आगामी २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा खेल्ने सुनिश्चित हुनेछ । यस्तै, इटालीले तीनै खेल जितेमा २१ अंक हुनेछ ।
इटालीले इजरायल, माल्दोभा र अन्तिम खेल नर्वेसँग खेल्न बाँकी छ । नर्वे र इटालीबीचको खेल महत्वपूर्ण बनाउन पहिले इटालीले माल्दोभा र इजरायललाई हराउन जरूरी हुन्छ । नर्वेको भने सातौं खेल इस्टोनियासँग हुनेछ । इस्टोनियाले एक मात्र जित अंकविहीनमा रहेको माल्दोभालाई हराएको हुँदा यस खेलमा नर्वे जित्ने बढी संभावना रहेको छ ।











प्रतिक्रिया