हैजाविरुद्धको खोप अभियान आजदेखि पर्सामा, असोज २८ देखि बारामा सुरु हुने


काठमाडौँ। 

हैजाको जोखिम बढेपछि पर्सा र बारा जिल्लामा मुखबाट खुवाइने हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । पर्सा जिल्लामा आइतबारदेखि खोप अभियान सुरु गरिएको छ भने बारामा असोज २८ गतेदेखि सुरु हुने भएको हो ।

परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार हालै ती जिल्लामा देखिएको हैजाको प्रकोप नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्न लागिएको हो । “यो खोप अभियानले दीर्घकालीन रूपमा हैजा रोग नियन्त्रणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ,” उनले भने ।

पर्सा जिल्लाका सबै पालिकामा आजदेखि खोप वितरण सुरु गरिएको छ भने बारा जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा खोप असोज २८ गतेदेखि खुवाइनेछ । यो मुखबाट खुवाइने खोप एक वर्ष उमेर माथिका सबै व्यक्तिलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस वर्ष गत भदौमा  पर्सा र बारामा हैजाको संक्रमण फैलिएको पृष्ठभूमिमा रोगको नियन्त्रण र रोकथामका लागि यो प्रतिकार्य खोप अभियान सञ्चालन गरिएको होे। स्वास्थ्य अधिकारीहरूका अनुसार हैजाको संक्रमणको स्रोत पानी र सरसफाई भनिए पनि अझै एकीन पहिचान हुन नसकेकाले जोखिम अझै समाप्त भएको छैन । वीरगंज महानगरपालिका र पोखरिया नगरपालिकामा गत भाद्र महिना हैजा पुष्टि भएका बिरामी भेटिएका थिए । संक्रमितहरूलाई उपचारका लागि वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

हैजा पुष्टि हुनुअघि नै झाडापखाला लागेर तीन जनाको मृत्यु भएको थियो । अस्पतालमा अझै पनि झाडापखालाका बिरामी आउने क्रम १० जनाको हाराहारीमा रहेको र नरोकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । “हैजा नियन्त्रणका लागि सुरक्षित खानेपानी, सरसफाइ र खोप नै प्रभावकारी उपाय हुन् ।” 

गत बुधबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले नेपाल सरकारलाई १० लाख १८ हजार १०० मात्रा मुखबाट खुवाइने हैजाखोप हस्तान्तरण गरेका थिए । सो खोप गाभी , द भ्याक्सिन एलायन्सको सहयोगमा र अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) को विश्वव्यापी हैजा खोप भण्डारबाट आपूर्ति गरिएको हो ।

नेपाल सरकारले अभियान सञ्चालनका लागि आवश्यक खोप, खोप सामग्री र खर्च पनि अन्तर्राष्ट्रिय समन्वय समूहबाट सहयोगस्वरूप प्राप्त गरेको छ । मन्त्रालयका अनुसार खोप वितरणका क्रममा स्थानीय स्वास्थ्यकर्मी, स्वयंसेवक र विद्यालयहरूलाई पनि समूह गत रुपमा घरदैलो अभियान सहित परिचालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशका अन्य जोखिमयुक्त जिल्लाहरूमा पनि आवश्यक परे खोप अभियान विस्तार गर्न सकिने बताए । “पर्सा र बारामा सुरु भएको यो अभियानलाई आवश्यकता अनुसार अन्य जिल्लामा पनि विस्तार गर्न सकिन्छ,” उनले भने ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तन, सरसफाइको अभाव र दूषित खानेपानीका कारण नेपालका तराई जिल्लाहरूमा हैजाको जोखिम उच्च रहँदै आएको छ । पछिल्ला वर्षहरूमा जनस्वास्थ्य व्यवस्थामा सुधार भए पनि दूषित खानेपानी र खुला ढल प्रणालीले संक्रमण फैलन सहज बनाएको बताइन्छ ।

सरकारले सरसफाइ र खानेपानीको अवस्थासँगै स्वास्थ्य चेतनामूलक कार्यक्रमलाई पनि सँगै अघि बढाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियानले कम्तीमा पाँच लाख बढी जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्नेछ ।

अहिलेसम्म १ हजार ६८५ भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।