गृहमन्त्री अर्यालद्वारा तीनै सुरक्षा निकायका प्रमुखसँग संयुक्त छलफल


काठमाडौं ।

पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थिति बारे गृहमन्त्री ओमप्रकाश अर्यालले तीनै सुरक्षा निकायका प्रमुखहरुसँग संयुक्त छलफल गरेका छन्।
बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका उच्च अधिकारीहरू सहभागी थिए।

गृहमन्त्री अर्यालले बैठकमा देशको हालको राजनीतिक घटनाक्रम, विपद् जोखिम व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय, चाडपर्वमा सुरक्षा व्यवस्था, तथा आन्तरिक स्थायित्वका विषयमा जानकारी लिएका र आवश्यक निर्देशनसमेत दिएका छन्।

मन्त्रालय स्रोतका अनुसार बैठकमा हालै बढ्दै गएको प्राकृतिक विपद् जोखिम र राजनीतिक गतिविधिका सन्दर्भमा सुरक्षा संयन्त्रबीच सहकार्य मजबुत बनाउन जोड दिइएको छ।

गृहमन्त्री अर्यालले तीनै निकायबीच सूचनाको आदान–प्रदान, आकस्मिक तयारी र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संयमित र समन्वित रुपमा काम गर्न निर्देशन दिएका छन्।