एघार स्थानमा सहायता कक्ष


बैतडी ।

चाडपर्वलाई लक्षित गरेर सीमानाकासहित बैतडीका ११ स्थानमा सहायता कक्ष स्थापना गरिएका छन् । चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न, यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने लगायतका उद्देश्य राखेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

भारतसँग सीमा जोडिएको झुलाघाटनाका सहित ११ स्थानमा सहायता कक्ष सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडुले बताउनुभयो । सीमानाका झुलाघाट, सदरमुकाम गोठलापानी, देहिमाडौंैं, सतबाँझ, खोचलेक, गोकुलेश्वर र सिमारमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यस्तै, पाटन, खोड्पे, श्रीभावर र मेलौलीमा पनि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको उहाँको कथन छ ।

‘चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत सहायता कक्ष स्थापना गरिएको छ’, बडुले भन्नुभयो– ‘चाडपर्वको समयमा यात्रुको सहजीकरणका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन् । यात्राको क्रममा कुनै समस्या आएमा नजिकको यात्रु सहायता कक्षमा सम्पर्क राख्न आग्रह छ ।’ चाडपर्वको समयमा तोकिएको भन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका समस्या देखिने भएकाले यस्ता कार्यहरुको नियन्त्रणका लागि यात्रु सहायता कक्षमार्फत काम हुने गरेको छ । यात्रु सहायता कक्ष छठसम्म सञ्चालनमा रहने जनाइएको छ ।

यसै बीच, चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर जिल्लामा शान्ति सुरक्षाको अवस्था कडाइ गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । ‘चाडपर्वमा हुने आपराधिक क्रियाकलाप हुन र ढुक्कसँग नागरिकले दशैंतिहार मनाउन् भनेर सुरक्षा योजना बनाएका हौं ।’ –उहाँले भन्नुभयो ।