–जात्रा व्यवस्थापन समितिका संयोजक शाक्य भन्नुहुन्छ : नगर प्रहरीले ज्यादती गर्यो
–शनिवार धारणा सार्वजनिक गर्दै, मेयर साहसँग मात्र वार्ता गर्ने अडान
काठमाडौैं ।
नौ वर्षपछि कुलघर फर्किन लाग्नुभएकी कुमारी तृष्णा शाक्यकोे दैनिक उपभोग्य सामग्री ओसारपसारका क्रममा कुमारी घर अगाडि गाडी रोकेर सामान ओसार्न अनुमति नदिएपछि स्थानीयको आक्रोश बढेको छ । स्थानीयले काठमाडौं महानगरपालिका नगर प्रहरी बल प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको राजीनामा मागेका छन् ।
घटनालगत्तै इन्द्रजात्रा व्यवस्थापन समितिदेखि हनुमानढोका दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले नगर प्रहरी बल प्रमुख पाण्डेको राजीनामा र मेयर साहले क्षमापूजा गर्नुपर्ने माग अघि सारेका छन् । उनीहरूले ती माग र धारणाको बारेमा शनिवार पत्रकार सम्मेलन गर्ने भएका छन् ।
१० दिनअघि भएको सो घटनामा नगर प्रहरी प्रमुख पाण्डेले कुमारी शाक्यको सामान लैजान सवारी प्रवेशको अनुमति माग्दा इन्कार गर्नुभएको थियो । २०७४ असोज १२ गते कुमारी बन्नुभएकी शाक्यको १२ वर्ष पुग्नै लाग्दा अष्टमीको दिन बिदाइ गरिएको थियो । बिदाइ हुनु एक दिनअघि फूलपातीमा कुमारीले प्रयोग गर्नुभएको सामग्री डल्लुस्थित निजी निवासमा लैजान कुमारी घरसम्म सवारी प्रवेश गर्न माग गरेका थिए ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले विश्व सम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबारक्षेत्र प्रवेश गर्न प्रहरीले सीमित घेरामा सिक्रीले बाटो छेकेर कुमारी घरसम्म सवारी ल्याउन नदिएको आरोप लगाउनुभयो । ‘हामीले धेरै अनुनयविनय ग¥यौं, नगर प्रहरी प्रमुख पाण्डेले जीवितदेवी कुमारीको सामान लैजान सवारी प्रवेशमा रोक लगाउनुभयो’ –शाक्यले भन्नुभयो । शाक्यले आफैंले प्रहरी प्रमुख पाण्डेलाई फोन गरेर केही समयको लागि बाटो खोलिदिन आग्रह गरेको तर नमान्नुभएको बताउनुभयो ।
प्रमुख पाण्डेले उल्टै निषेधित क्षेत्रमा सवारी चलाउन मिल्दै मिल्दैन भनी जवाफ फर्काउनुभएको शाक्यले बताउनुभयो । उपमेयर सुनिता डंगोलले समेत प्रहरी प्रमुख पाण्डेलाई निर्देशन दिँदा नमानेको शाक्यको भनाइ थियो । इन्द्रजात्राको समयमा यस्तै लफडा हुने गरेकोमा शाक्यले दुखेसो पोख्नुभयो । ‘अब सीमित घेरामा मात्र सिक्री लगाउनुभन्दा विश्व सम्पदाक्षेत्रको चार किल्लामा सिक्री लगाउन माग गर्नुपर्ने अवस्था आएको छ, होइन भने किन हरेक वर्ष अपमानित गरिन्छ, सय मिटरनजिक कुमारी घर जाने बाटोनजिक किन सिक्री लगाइन्छ । विश्वकै हिन्दु धर्मावलम्बीको जीवित देवीमाथि किन अपमानित गरिन्छ’ –शाक्यले भन्नुभयो ।
नगर प्रहरीको ज्यादतीको विरोधमा महासमितिले धारणा सार्वजनिक गर्दै छ । पहिलो धारणा प्रहरी प्रमुख पाण्डेको राजीनामा, दोस्रो राजीनामा नदिएको खण्डमा बर्खास्त गरी मेयर साहले माफी मागेर कुमारीघरमा क्षमापूजा गर्नुपर्छ । महासमितिका संरक्षक मनोज नेवाः खड्गीले जीवित देवीमाथि अपमानित गर्ने प्रहरी बल प्रमुख पाण्डेको राजीनामा पहिलो र अन्तिम माग रहेको चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘राजीनामा नआए त्यसपछि कस्तो आन्दोलनको कार्यक्रम अघि बढाउने भन्ने विषयमा छलफल गर्नेछौं । पाण्डेले व्यवस्थापकीय निर्णयभन्दा पनि संस्कृतिप्रति संवेदनशीलता र कुमारी परम्पराप्रति अपमान गरेको हामीले बुझेका छौं ।’
स्थानीय दर्जन बढी संघसंस्थाले आफ्नो माग पूरा गर्न मेयर साहलाई दबाब दिने जनाएको छ । प्रहरी बल प्रमुख पाण्डेले राजीनामा नदिए हनुमानढोका दरबारक्षेत्रमा नगर प्रहरीको ड्युटी टोली प्रवेश निषेधदेखि महानगरको कार्यालय बन्दसम्मको कार्यक्रम घोषणा गर्ने तयारीमा छ । महासमितिले कुमारी छनोट गर्ने शाक्य समूह, बाजा खलः, कामपा १९, २०, २३, २२, २४ वडाका स्थानीय क्लब संघसंस्थासँग छलफल गरिसकेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष शाक्यले महानगर प्रहरीले अति गर्न थालेपछि संस्कृतिमाथिको प्रहार भएको महसुस गरी बाध्य भएर स्थानीयले आन्दोलन गर्न थालेको जानकारी दिनुभयो ।उता प्रहरी प्रमुख पाण्डेले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण सार्वजनिक गर्दै उक्त समाचार ‘पूर्णतः असत्य र भ्रामक भएको दाबी गर्नुभएको छ । केही व्यक्तिहरूले निहित स्वार्थका लागि गलत प्रचार गरेको भन्दै आफू र महानगर प्रहरीमाथि लागेको आरोप असत्य भएको उल्लेख गर्नुभएको छ ।
उहाँले गद्दी बैठकदेखि कुमारी घरसम्म करिब ३० मिटर दूरीमा ‘हनुमानढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत ट्रलीमार्फत सामान ढुवानीको व्यवस्था गरिएको र महानगर प्रहरीले सहजीकरण र सहयोग गरेको उल्लेख गर्नुभएको छ । तर स्थानीयहरू प्रहरी प्रमुखले कुमारी घरमा लैजाने सामग्रीहरू ओसारपसारका लागि ट्रलीको व्यवस्था गरेको दाबी आफैंमा विवादास्पद रहेको बताएका छन् ।
प्रहरी बल प्रमुख पाण्डेले जात्रा व्यवस्थापन गर्न प्रहरीले सबै सहयोग गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘वडाध्यक्षज्यूहरुको सल्लाह र सुझावको आधारमा जात्रा व्यवस्थापन गरेका छौं ।’ उहाँले कुमारीको सामग्री मूल घरसम्म पु¥याउन सबै किसिमको सहयोग गरेको दाबी गर्नुभएको छ । ‘विगतको जे जस्तो व्यवस्था गरेका थियांै, यो वर्ष पनि त्यही गरेका हौं । हामीले जात्रा सम्पन्न गर्न सबै सहयोग गरेका छौं’ –प्रहरी बल प्रमुख पाण्डेको भनाइ थियो ।











प्रतिक्रिया