काठमाडौँ।
‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारले दिएको किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँले आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ।
परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार मृतकका परिवारमध्ये चार/पाँच जनाले दोषीहरूलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउनआएका थिए। ती जाहेरीहरू आयोगमा पठाइएको उनले जानकारी दिए।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले उजुरी आयोगमा आइपुगेको र त्यसको अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए।
गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा आन्दोलनको अवधिमा भएका घटनाहरूको छानबिनका लागि आयोगलाई जिम्मेवारी दिइएको उल्लेख छ। आयोगलाई भौतिक तथा मानवीय क्षतिसम्बन्धी सूचना वा निवेदन संकलन र विश्लेषण गरी कारबाहीका सम्बन्धमा राय सिफारिस गर्ने कार्यादेश दिइएको छ।
गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौँलगायत देशका विभिन्न स्थानमा भएका घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन तयार पार्ने उद्देश्यले आयोग गठन गरिएको हो। आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरु गरिसकेको छ।











प्रतिक्रिया