देशभर बदली, भारी वर्षाको सम्भावना – सतर्कता अपनाउन आग्रह


काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभावका कारण अहिले साधारणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थुप्रै स्थानहरूमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति यी प्रदेशका पहाडी र तराई भूभागमा चट्याङसहित मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना छ।

भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारण र सरोकारवालाहरूलाई सतर्क रहन र आवश्यक भएमा मात्र यात्रा गर्न अनुरोध गरेको छ।