काठमाडौैं ।
भास्करदेव संस्कारित केशवचन्द्र पारावर्त महाविहार इटुंबहालकी साढे २ वर्षीया आर्यतारा शाक्य नयाँ कुमारी चयन हुनुभएको छ । वि.सं २०७९ साल पुस २६ गते जन्मनुभएका आर्यतारा करिब साढे २ वर्षको उमेरमा जीवित देवी कुमारीको रूपमा छनौट हुनुभएको हो ।
भोलि मंगलवार कौलाथ्यो अष्टमीको दिन मध्याह्न १२ बजेर ५ मिनेटमा हनुमानढोकाको मूलचोकमा लगेपछि १२ बजेर १६ मिनेटसम्म सिंहासनमा प्रतिस्थापन गर्ने कार्यक्रम छ । कुमारी छनौट समितिका सदस्य एवं तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले करिब डेढ हप्तासम्म छनौट विधिपछि आर्यतारालाई कुमारीको रूपमा छनौट गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘३२ लक्षणको परीक्षण र अध्ययन गरी सबै प्रकृया पूरा गरेपछि कुमारी छनौट गरिएको हो । कुमारीमा हँसिलो स्वभाव हुनुपर्छ । कसैसँग रिसाउने र झर्कने गर्नुहुँदैन । उत्तरसाइतको भएका कारण कुमारी आर्यतारामा सबै लक्षण पाएका छौं ।’ नयाँ कुमारीको प्रवेशसँगै वर्तमान कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ ।
आज सोमबारसम्म रहने कुमारी तृष्णा शाक्य २०७४ असोज १२ गते कुमारीको सिंहासनमा बस्नुभएको थियो । उहाँको उमेर १२ वर्ष नाघेपछि अर्थात रजस्वला हुनुअघि नयाँ कुमारी छनौट गरेको हो । ३ वर्षमा कुमारी तृष्णालाई छनौट गर्दा १२ वर्ष पुगेपछि परिवर्तन गर्ने मापदण्ड बनाइएको थियो । सोही आधारमा नयाँ कुमारी छनौट भएको तलेजुका मूल पुजारी कर्माचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
प्रतिस्थापन हुने तयारीमा रहनुभएकी आर्यतारालाई नवमीको दिन वर्षमा एक दिनमात्रै खुल्ने तलेजु भवानीको दर्शन र साक्षात्कार गराइन्छ । पूर्ण तान्त्रिक विधिपूर्वक तलेजु भवानीको दर्शन एवं साक्षात्कार गराएपछि मात्रै उनलाई पूर्णरूपमा जीवित देवी कुमारीको रूपमा पूजा गर्ने शास्त्रीय विधि छ ।
तलेजु भवानीको जीवित स्वरूपको रूपमा पुजिने कुमारी नेवारी सम्प्रदायको शाक्य वंशबाट मात्रै लिइने प्रचलन छ । तलेजु भवानीको दर्शन गराउन कुमारीलाई कुमारी घरबाट पैदल हिँडाएर लग्ने गरिन्छ । त्यसबाहेक अरू दिन कुमारीलाई हिँडाउने चलन छैन ।
इतिहासमा उल्लेख भएअनुसार राजा प्रतापमल्लको शासन कालमा ३२ लक्षणयुक्त कन्यालाई कुमारी बनाउने प्रचलन चलेको मूल पुजारी कर्माचार्यको भनाइ छ । सोही प्रचलन हालसम्म चलिरहेको छ । यद्यपि, त्यसअघिका महेन्द्र मल्लदेखि कुमारी प्रचलन शुरू भएको पनि बताइन्छ ।
उहाँका अनुसार काठमाडौंमा हालसम्म ९ जना पूर्व कुमारी जीवित छन् । तत्कालीन राजा त्रिभुवनको पालामा कुमारीलाई बिफर लागेर शरीरमा खत देखिएपछि एकै समयमा दुईजना कुमारी परिवर्तन गरिएको थियो । कुमारी हुन शरीरमा कुनै घाउ वा चोटपटक लागेको हुनुहुँदैन ।
भोलिदेखि सिंहासनमा विराजमान हुन लाग्नुभएकी कुमारी आर्यतारालाई छनौट गर्न गुठी संस्थानका प्रसाशक अध्यक्ष शैलेश कुँवर र सहायक प्रशासक राजेन्द्र दाहाल, शाक्य समूहका सचिव संघरत्न शाक्य तलेजुबाट मूल पुजारी उद्धव कर्माचार्य, जोशी नाईके विश्वविक्रम ध्वज जोशी, कुमारी घरबाट चिताईदार दुर्गा शाक्य र पञ्चबुद्ध मञ्जुश्रीरत्न बज्राचार्यको समितिले कुमारी छनौट गरेको थियो ।
५ जनाको नाम आएकोमा, छनौटमा परेका ३ जनामध्ये आर्यतारामा सबै लक्षण देखिएपछि कुमारी छनौट गरिएको मूल पुजारी कर्माचार्यले बताउनुभयो । अब आउने कुमारी करिब ९ वर्ष सिंहासनमा विराजमान हुने सम्भावना छ ।३ जना मध्येबाट राष्ट्र अनुकूलको योगअनुसार आर्यतारा शाक्यको कुण्डली मिलेकाले उनैलाई छनौट गरिएको गुठी संस्थानले जनाएको छ । कुमारी चयन गर्दा राष्ट्र अनुसारको कुण्डली योग मिलाउने प्रचलन छ ।
विभिन्न पर्व विशेषमा पर्वजात्रा अवलोकनका लागि वर्षभरि १३ पटक कुमारीको सवारी चलाउने गरिन्छ । कुमारीका लागि औपचारिक शिक्षालगायतका सबै सेवा कुमारी घरभित्र नै उपलब्ध गराइन्छ । निवर्तमान कुमारीलाई सरकारले मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने छ भने काठमाडौं महानगरपालिकाले पनि निर्वाहभत्ता दिने गरेको छ ।











प्रतिक्रिया