स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते


काठमाडौं ।

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ हुलाकी सडकखण्डमा स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

पर्साबाट भेल्हीतर्फ जाँदै गरेको MH–04–DJ–1297 नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक अङ्कित चौधरी (२३) र पछाडि सवार रोहित सहनी (२५) को उपचारको क्रममा मृत्यु भएको हो। अर्का सवार शिवशंकर पण्डित गम्भीर घाइते भएका छन्।

दुर्घटनापछि स्कारपियो चालक फरार छन् भने प्रहरीले सवारीसाधनहरू नियन्त्रणमा लिएको छ। मृतकहरूको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमका लागि राखिएको छ।