काठमाडौं ।
आज आश्विन शुक्ल पञ्चमीको अवसरमा नवदुर्गाको पाँचौं रूप स्कन्दमाताको पूजा गरिँदैछ। पहाडमा बसेर जीवहरूलाई नवचेतना प्रदान गर्ने देवीका रूपमा चिनिने स्कन्दमाता कुमार कार्तिकेयकी आमा हुन्। सेतो वर्ण, कमलको आसनमा विराजमान र सिंहवाहिनी भएकाले यिनीलाई पद्मासना देवी पनि भनिन्छ।
स्कन्दमाताको पूजाले भक्तजनलाई अलौकिक तेज, आत्मबल र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ। देवी भागवत अनुसार यिनी सूर्य मण्डलकी अधिष्ठात्री देवी हुन्।
आजको पूजामा हरियो वस्त्र धारण गरी उत्तरतिर मुख फर्काई देवीको प्रतिमा स्थापना गरेर पूजन सामग्रीसहित विधिपूर्वक पूजा गरिन्छ। विशेष मन्त्र, ध्यान र स्तोत्रमार्फत देवीको आराधना गरिन्छ।
आरतीपश्चात् केराको प्रसाद चढाई बाँड्ने चलन छ। स्कन्दमाताको उपासना गर्नु भनेको स्वामी कार्तिकेयको उपासना गरेजस्तै पुण्य प्राप्त गर्नु हो भन्ने धार्मिक मान्यता रहेको छ।











प्रतिक्रिया