राष्ट्रसंघले इजरायलमाथि पक्षपात गरेको इजरायली राजदूत श्मुलिकको आरोप

स्थायी युद्धविरामका लागि आह्वान गर्दा हमासको बारेमा किन मौन ?


कतारले हमासलाई ‘सुरक्षित स्वर्ग’ दिएको इजरायलको दाबी

काठमाडौं।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघको सुरक्षा परिषद्मा इजरायल–हमास युद्धबारे हालै राख्नुभएको धारणाको खण्डन गर्दै राष्ट्रसंघले इजरायलमाथि पक्षपात गरेको आरोप लगाएका छन् ।

गत सेप्टेम्बर २३ अर्थात दुई दिनअघि महासचिव गुटेरेसले सुरक्षा परिषद्लाई सम्बोधन गर्दै गाजाको मानवीय संकटलाई ‘अन्धकारमय अध्याय’को संज्ञा दिँदै गाजामा तत्काल स्थायी युद्धविरामका लागि इजरायललाई आह्वान गरेका थिए । सोही क्रममा उनले हमासको नाम नलिई सबै बन्धकहरूको बिना शर्त रिहाइको आग्रह पनि गरेका थिए । सोही सन्दर्भमा इजरायली दूतावासले बिहीबार गरेको पत्रकार सम्मेलनमा राजदूत श्मुलिकले प्रश्न गरे– ‘राष्ट्रसंघले इजरायलविरुद्ध आतंकवाद फैलाइरहेको हमासलगायतका आतंकवादी संगठनहरूका बारेमा एक अनुच्छेद पनि नबोली इजरायललाई तत्काल स्थायी युद्धविराम गर भन्न मिल्छ ? हमासले फैलाइरहेको आतंक र उनीहरूको कब्जामा रहेका विदेशीका साथै इजरायली नागरिकको सुरक्षित रिहाइका बारेमा राष्ट्रसंघले खै हमासमाथि दबाब दिएको ?’

इजरायलसँग युद्धरत् हमासको सैन्य शाखा अल–कस्साम ब्रिगेडले शनिवार सार्वजनिक गरेको ४८ जना बन्धकहरूको तस्वीरमा नेपाली विद्यार्थी विपिन जोशीको फोटो पनि समावेश छ । गाजा सहरमा इजरायली सेनाले स्थलगत आक्रमणलाई तीव्र पारिरहेको बेला हमासले इजरायलमाथि दबाब सिर्जना गर्न ‘बिदाइ तस्वीर’ भनेर ४८ जना बन्धकहरूको तस्वीर सार्वजनिक गरेको थियो । जसमा विपिन जोशीको तस्वीर ३८औं नम्बरमा छ । हमासले दुई वर्षअघि अक्टोबर ७ मा इजरायलमा गरेको आतंककारी आक्रमणको क्रममा जोशीलाई पनि बन्धक बनाएको थियो । त्यसपछि जोशीको अवस्था हालसम्म पनि अज्ञात रहेको छ । हमासले बिदाइ तस्वीर भनेर ४९ जना बन्धकको फोटो सार्वजनिक गरे तापनि ती बन्धकहरू जीवितै छन् वा छैनन् भन्ने खुलाइएको छैन ।

पत्रकार सम्मेलनमा राजदूत श्मुलिकले गाजा क्षेत्रमा भएको नागरिक क्षतिप्रति दुःख व्यक्त गर्दै भने– ‘इजरायल कुनै पनि प्यालेस्टिनी नागरिकलाई क्षति पुर्‍याउन चाहँदैन । तर, हमासले ती निर्दोष नागरिकलाई नै ढाल बनाएर मस्जिद, अस्पताल, विद्यालय र अन्य नागरिक भवनहरूबाट इजरायलमा क्षेप्यास्त्र आक्रमण गर्ने, ती स्थानहरूमा गोदाम, सुरुङ बनाउने तथा कमान्ड केन्द्र बनाउन प्रयोग गर्ने भएकोले बाध्य भएर इजरायलले ती क्षेत्रहरूमा आक्रमण गर्नुपरेको छ ।’

उनले इजरायल आफ्नो अस्तित्वको लडाईं लडिरहेको कुरा दोहोर्‍याउँदै अक्टोबर ७ को आक्रमणलाई प्रशंसा गर्ने कार्यलाई इजरायलले छुट दिन नसक्ने बताए । पछिल्लो समयमा कतारमाथि इजरायलले गरेको आक्रमणको प्रतिरक्षा गर्दै उनले भने– ‘कतारले हमासलाई ‘सुरक्षित स्वर्ग’ दिइरहेको छ । बन्धकहरूको रिहाइमा सहयोग गर्न हमासलाई मनाउनुभन्दा उल्टै उनीहरूलाई समर्थन गरेर समस्या बढाइरहेको छ ।’ उनले एउटा सार्वभौम राष्ट्रमाथि आक्रमण गर्न नमिल्ने कतारको भनाइको प्रतिवाद गर्दै भने– ‘अमेरिकाले बिन लादेनलाई पाकिस्तानमा मारेको थियो । त्यतिबेला के अमेरिकाले पाकिस्तानको स्वीकृति लिएको थियो? वा अमेरिकाले तिम्रो देशमा आक्रमण गर्दैछु भनेर जानकारी दिएको थियो ?’

पत्रकार सम्मेलनमा इजरायली दूतावासका उपप्रमुख जनान बिबरले हमासलाई पराजित गरिएन भने विश्वमा नै एउटा गलत नजिर बस्ने बताए । उनले भने– ‘यदि आतंक फैलाएर कुनै मुलुक वा स्थान कब्जा गर्न चाहने समूहलाई पराजित नगर्ने र उनीहरूको नाजायज माग पूरा गरिदिने हो भने आतंकवाद झनै मौलाउने छ । यो आतंकवादबाट इजरायलमात्र होइन, पूरा विश्व नै आक्रान्त हुनेछ । आतंककारीहरू कसैको पनि आफन्त हुन सक्दैन ।’