काठमाडौं ।
जेन–जी आन्दोलनको नेतृत्व लिएको भनिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आन्दोलनको मर्मअनुसार अघि बढ्न नसक्दा साख खस्कन सक्ने सम्भावना बढेको छ । नयाँ पार्टी खोलेर प्रधानमन्त्री हुने सपना देखेका मेयर साहले आन्दोलनको जोडमा आफू अनुकूल सरकार बनाउन सफल त हुनुभयो तर उहाँको पछिल्लो गतिविधि देखेर जेन–जी पुस्ता दिक्क हुन थालेका छन् ।
उहाँकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री हुनुभएको हो भने गृह एवं कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ पनि बालेन्द्र निकट हुनुहन्छ । भदौ २३ र २४ गते ७४ जनाको ज्यान जानेगरी आन्दोलन भयो तर मेयर साह एक दिन पनि सडकमा आउनुभएन । त्यति मात्रै होइन, उहाँ घाइतेलाई भेट्न अस्पताल जानुभएको पनि देखिएन ।
दोलखाकी जेन–जी रन्जु केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सामाजिक सञ्जालमार्फत जेन–जीलाई आन्दोलनमा सहभागी गराउन सक्ने मेयरसाब किन हाम्रो आन्दोलनमा देखिनुभएन ? ठिक छ, उहाँको उमेर जेन एक्स होला । हामी जेन–जी भयांै आन्दोलनमा नआए पनि अन्य विषयमा उहाँ किन सडकमा आउन चाहनुहँुदैन । सधंै भित्र बसेर खेल्दा आन्दोलनको भूमिकामै प्रश्न उठ्ने सम्भावना बढेको छ ।
’ अधिकांश मृतकको परिवारको अपेक्षाअनुरूप मेयर साहले मृतकहरूको दाहसंस्कारमा पशुपति आर्यघाट पुगेर जेन–जी आन्दोलनका सहिद परिवारको घाउमा मल्हम लगाउने काम किन गर्नुभएन भनेर अहिले उहाँमाथि प्रश्न उठेको छ । आन्दोलनमा कामपाले पानी वितरण गरेको थियो । मोबाइल शौचालय राखेको थियो । तर, मृतक जेन–जीहरूको दाहसंस्कार कार्यक्रममा मेयरको उपस्थिति नदेखिएपछि सबै छक्क परेका छन् ।
करिब ७ वटा मन्त्रालयको भन्दा बढी बजेट भएको कामपाले सहिदको परिवारलाई राहतस्वरूप केही रकम सहयोग गर्न सक्थ्यो, तर गरेन । यस विषयमा कामपाका अधिकांश कर्मचारीले मेयरले सहिद परिवारलाई सहयोग गरेको भए पनि हुने भन्ने गरेका छन्, तर सल्लाह दिने आँट भने गरेका छैनन् । न त मेयर साहले नै यस विषयमा केही सोच्नुभएको छ ।
जेन–जी आन्दोलनअघि आक्कल झुक्कलमात्र कार्यालय आउने गर्नुभएका साह अहिले दैनिक बिहान करिब साढे १० बजे कार्यालय पुग्नुहुन्छ । मेयर साहको सक्रियता बढेको त छ, तर सल्लाहकारले सल्लाह नदिएर हो वा आफैंले नजानेर जेन–जी आन्दोलनपछि मेयर साहले जेन–जीलाई खासै सहयोग गर्नुभएको छैन । पर्दापछाडिको हिरो बनेका साहले अब के गर्ने अझै निक्यौल गर्नुभएको छैन ।
जेन–जीका लोकप्रिय बन्न सफल मेयर साहले अबको दिनमा जेन–जीको हित अनुकूल काम नगरे ती पुस्ता उहाँकै विरुद्धमा उत्रिन सक्ने आंकलन गरिएको छ । स्रोतका अनुसार मेयर साहले पार्टी खोले जेन–जीको सान बढ्ने आंकलन गरिएको छ । तर, कहिले खोल्ने भन्ने विषयमा निर्णय भएको छैन । जेन–जीलाई आन्दोलनका लागि उचालेर मेयर साहले खर्बौं रुपियाँ बराबरको क्षति गराएको भन्दै धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङले मेयर साहलक्षित दर्जनांै विषयमा फेसबुक स्टाटस लेख्नुभएको छ ।
हर्कको स्टाटस र मेयर आफ्नै कारणले गर्दा जेन–जी आन्दोलनले कुन मोड लिन्छ भन्न सकिएको छैन । यिनै कारणले मेयर साहले शुरू गरेको आन्दोलन फरक मोडमा जाने हो कि ? भन्ने चिन्ता पुगेको छ ।जेन–जी आन्दोलनमा गुमनाम तर सामाजिक सञ्जालमा सक्रिय मेयर साहको टिमले आन्दोलनसँगै संसद् विघटन पहिलो माग राखेको थियो । प्रत्यक्ष निर्वाचत प्रधानमन्त्री हुन संविधान संशोधन अनिवार्य छ । संविधान संशोधन गर्न दुईतिहाई मत चाहिन्छ । त्यसैले मेयर साह दुई तिहाई मत ल्याएर संविधान संशोधन गरी कार्यकारी प्रधानमन्त्री हुने गृहकार्यमा हुनुहुन्छ ।











प्रतिक्रिया