हेटौंडा ।
वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, उपसभामुख अप्सरा चापागाईंसहित मन्त्रीहरूले जेन–जी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको १० औं दिन प्रदेशसभा भवन अनुगमन गर्नुभएको छ । भदौ २४ गते वागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनमा ठूलो क्षति पुगेको थियो ।
प्रदेश राजधानी हेटौंडामा रहेका करिब एक दर्जन सरकारी मन्त्रालय तथा कार्यालयमध्ये सबभन्दा ठूलो नोक्सानी प्रदेशसभा भवनमा भएको सम्बन्धित निकायले जनाएको छ । वागमती प्रदेशसभा सचिवालयका कर्मचारीहरूले निकालेका प्रारम्भिक तथ्यांकअनुसार करिब ३५ करोड बराबर क्षति भएको हो । क्षतिको पूर्णविवरण आउन बाँकी छ ।
१२ करोड २९ लाख लागतमा बनेको वागमती प्रदेशसभाको नवनिर्मित भवन जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ । साउन २७ गते औपचारिक रूपमा सञ्चालनमा ल्याइएको प्रदेशसभा भवनमा ४ वटामात्र बैठक सञ्चालन भएको थियो । भवन निर्माण गर्न साढे चार वर्ष लागेको थियो । भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले भवनमा तोडफोड र आगजनी गरेका थिए । ठूलो संख्यामा आएका प्रदर्शनकारीले सुरुमा नाराबाजी गर्दै ईंटा र ढुंगा प्रहार गरेका थिए ।
प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेशसभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । कांग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । प्रदेशसभा सचिवालयका प्रशासन र कार्यव्यवस्थासम्बन्धी सबै कागजपत्र जलेका छन् भने कानुन तथा विधेयक शाखामा रहेका विधेयकहरू सुरक्षित छन् ।
निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले जेन–जीको नाममा भएको आन्दोलनलाई ‘सुनियोजित’ कार्यको संज्ञा दिनुभयो । उहाँले उक्त आन्दोलन लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जेन–जी नाममा गरिएको आन्दोलनलाई आन्दोलन भन्न मिल्दैन । यो व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका, संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार हो । यस पस्थितिमा सम्हालिनुको विकल्प छैन ।
वागमती प्रदेशसभालाई व्यवस्थित बनाएर कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा हामी चाडपर्व सकिएलगत्तै पुग्नेछौं । सर्वदलीय बैठकले त्यसको टुंगो लगाउनेछ ।’‘संघीयता कुनै पनि हालतमा खारेज हुँदैन । संविधान जबसम्म रहन्छ, तीन तहको सरकार ढल्दैनन् । लोकतन्त्र र व्यवस्था बचेको छ, बाँकी व्यवस्थापनको पाटो मिल्दै जानेछ,’ उहाँले भन्नुभयो ।
उहाँहरूले बिहीबार प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत निकायको निरीक्षण गर्नुभएको हो । निरीक्षणमा उहाँहरूसँग सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादे, सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी, खानेपानी मन्त्री कृष्णकुमार तामाङ, आन्तरिक मामिला मन्त्री शिवराज अधिकारीलगायतको सहभागिता थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले क्षति विवरण संकलन र भवनको प्रयोग योग्यता मूल्यांकनका लागि समिति गठन गरेको छ ।
समितिमा मन्त्रालयअन्तर्गत प्रादेशिक कार्यालय प्रमुखहरू र दुई विज्ञ सदस्य रहने व्यवस्था गरिएको छ । समितिले प्रदेशका १३ जिल्लामा रहेका प्रादेशिक कार्यालयको भवन प्राविधिक जाँच गरी बस्न वा प्रयोग गर्न उपयुक्त भएनभएको मूल्यांकन गर्ने बताइएको छ । समितिलाई प्रतिवेदन ७ दिनभित्र पेस गर्न निर्देशन दिइएको छ ।
आन्दोलनका क्रममा मन्त्रालयमा भएको तोडफोड र आगजनीबाट करिब साढे पाँच करोड बराबर क्षति भएको छ । हेटौंडा–१, चौकीटोलस्थित मन्त्रालय भवनमा आन्दोलनकारीले आगो लगाउँदा अधिकांश कोठा जलेका, आन्दोलनका क्रममा मन्त्रालयअन्तर्गत ४० वटा सवारीसाधन जलेकामध्ये पाँच चारपांग्रे गाडी र ३५ वटा सरकारी तथा निजी मोटरसाइकल र स्कुटर छन् ।
शान्ति र सहकार्यको आह्वान
यसअघि कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले जेन–जी आन्दोलनपछि उत्पन्न अस्थिर परिस्थितिको अन्त्य गरी समाजमा शान्ति र सहकार्य कायम गर्न आह्वान गरेको थियो । बैठकले आन्दोलनका क्रममा संघीय तथा प्रदेश तहका संरचना, सुरक्षा निकायका कार्यालय, सञ्चारगृह, औद्योगिक प्रतिष्ठान, व्यापारिक केन्द्र, विभिन्न राजनीतिक दलका कार्यालय, नेतृत्वको निजी आवास तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीप्रति आपत्ति जनाएको छ ।
बैठकले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु देउवाराणामाथि भएको भौतिक आक्रमणको भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।
पालिकाद्वारा इजलासलाई कम्प्युटर सामग्री
मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौंडा इजलासका लागि कम्प्युटर सामग्री हस्तान्तरण गरिएको छ । जेन–जी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामग्री जलेर नष्ट भएका थिए ।
अदालतका काम गर्न असहज भइरहेको समयमा भीमफेदी गाउँपालिका कार्यालयले कम्प्युटर २ थान, प्रिन्टर ३ थान हस्तान्तरण गरेको हो । पालिका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उपरजिस्टार बद्रीप्रसाद लामिछानेलाई सामग्री हस्तान्तरण गर्नुभयो ।











प्रतिक्रिया