दशैंअघि सडकका खाल्डाखुल्डी पुर्नेदेखि ट्राफिक व्यवस्थापनसम्म

‘खै त उपमेयरज्यू कहाँ जानुभयो ?’

2.54k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सुशासन र विकासलाई तीव्रता दिएको छ । मेयर बालेन्द्र साहले काठमाडौंवासीको हितअनुकूल कामलाई तीव्रता दिन निर्देशनपछि सबै विभाग, महाशाखा र मातहतका निकायले विकास र सुशासनको कामलाई निरन्तरता दिएका हुन् ।

जेन–जी आन्दोलनपछि तहसनहस राजधानीको सडक, यातायात र भौतिक संरचनाको सरसफाइलगायत कामलाई महानगरले पहिलो प्राथमिकतामा राखेको छ । राजधानीका अधिकांश प्रहरी कार्यालय आगलागीपछि ध्वस्त भएर प्रहरीविहीन अवस्थामा कामपा प्रहरीले सेवा दिइरहेको छ ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले फोहोर, जलेका सवारीसाधन र त्यसबाट निस्केका फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायतका अधिकांश काम गरिरेहको जानकारी दिनुभयो । उहाँका अनुसार जनताको कामलाई मुख्य प्राथमिकतामा राखेर सेवा दिइरहेको छ ।

मेयर साह दैनिक रूपमा कार्यालय समयमा उपस्थित भएर सेवाग्राहीलाई कुनै पनि झन्झट नदिन निर्देशन दिनुभएको छ । उहाँले महानगरलाई साच्चिकै विकासको नमुना बनाउन निर्देशन दिनुभएको कर्मचारीले बताएका छन् । मेयर साहको निर्देशनलगत्तै सोमबार सार्वजनिक निर्माण विभागमा भएको बैठकले राजधानीको खाल्डाखुल्डी पुर्ने निर्णय भएको छ ।

सोही आधारमा समेबाटबाटै खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ । कामपा प्रहरी उपरीक्षक विष्णुराज जोशीले बैठकलगत्तै ३२ वटै वडाका सडको खाल्डाखुल्डीको तथ्यांक तयार गरेको जानकारी दिनुभयो ।

‘तथ्यांक आउनुअघि मंगलवारबाट खाल्डाखुल्डी पुर्ने काम सुरु गरेका छौं’ –विभागीय प्रमुख सुरेश राईले नेपाल समाचारपत्रसँग भन्नुभयो । विभागले शनिवारभित्र राजधानीका सडकमा देखिएको सबै खाल्डाखुल्डी पुर्ने र फुटपाथ निर्माणलाई तीव्रता दिने जनाएको छ । कामपा प्रहरी बलका उपरीक्षक जोशीले बुधबारभित्र तथ्याङ्क संकलन सकेर कामलाई तीव्रता दिने जानकारी दिनुभयो ।

महानगर प्रहरी बलले सबै आइलेनमा यातायात व्यवस्थापन गर्न थालेको छ । बर्दीसमेत ध्वस्त भएको अवस्थामा ट्राफिक प्रहरी र नेपाल प्रहरीसँग हातेमालो गरी सडक सुरक्षा दिन थालेको छ । त्यस्तै चाडबाडको मुखमा हुने कालाबजारीसमेत नियन्त्रण गर्न कामपा प्रहरी खटिएको छ ।

यसै गरी कामपा प्रहरीले सहरलाई कुरूप बनाएको भन्दै सहरका ठूला घरमा राखिएको डिजिटल होडिङबोर्ड हटाउन सुरु गरेको छ । कामपा प्रहरी बल प्रमुख पाण्डेले व्यवस्थित सहर निर्माण गर्ने कामको थालनी भएको बताउनुभयो । यसैबीच कामपाले निर्माणाधीन काठमाडौं टावर निर्माण कम्पनीसँगको सम्झौता भंग गरेको छ । समयमा काम नसकेको उल्लेख गर्दै सम्झौता रद्ध गरेको कामपाले जनाएको छ ।

उता दशैं आउनैलाग्दा अनुगमनलाई तीव्रता दिनुपर्ने अवस्थामा अनुगमन समितिका संयोजक एवं उपमेयर सुनिता डंगोल एकसातायता कार्यालय आउनुभएको छैन । उपमेयर सचिवालय स्रोतका अनुसार विदेश भ्रमणबाट फर्केपछि उहाँ कार्यालय आउनुभएको छैन । ‘बजारमा कालाबजारी बढ्न सक्छ, खाद्यमा मिसावट हुन सक्छ’ खाद्य सुरक्षाको अवस्था बुझ्नुपर्ने र अनुगमन गरी नियन्त्रण र गल्ती गर्नेमाथि कारबाही गर्नुपर्ने बेला उपमेयर डंगोलको अत्तोपत्तो छैन’ –एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने ।

‘अनुगन गर्नुअघि बैठक बस्न हतार भइसकेको छ म्यासेज गर्दा समेत कुनै रेस्पोन्स छैन’ –कामपा स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । स्रोतका अनुसार एमालेबाट उपमेयर नियुक्ति हुनुभएकी डंगोल जेन–जी आन्दोलनपछि कार्यालयमा पाइला हाल्नुभएको छैन । यसअघि दैनिक कार्यालय पुग्ने अनुगमनमा व्यस्त हुने उपमेयर साताबढी समयसम्म कार्यालय नआउँदा कर्मचारीसमेत अचम्मित भएका छन् । उनीहरूले भन्ने गरेका छन्– ‘खै त उपमेयरज्यू कहाँ जानुभयो ?’ कार्यालयमा नआउँदा समस्या परेको छ ।