–केही मन्त्रालय सुरक्षित तर सवारीसाधनमा क्षति
–अधिकांश मन्त्रालयका सवारीसाधन ध्वस्त
–बढी निसानामा प्रम कार्यालय, गृह, शिक्षा र स्वास्थ्य मन्त्रालय
काठमाडौं ।
जेन–जी आन्दोलनका क्रममा सिंहदरबारलगायत विभिन्न मन्त्रालय र देशका विभिन्न सरकारी कार्यालयहरू आगजनी र तोडफोडले क्षतिग्रस्त बनेपछि निराश, दुःखी र आक्रोशित कर्मचारीहरू पछिल्ला दिनमा कार्यथलोमा जुट्न थालेका छन् । सिंहदरबारलगायत देशका विभिन्न भागमा रहेका कर्मचारीहरू भवनमा लागेको आगोको खरानी टकटक्याउँदै काममा जुट्न थालेका हुन् । यद्यपि, आन्दोलनकारीहरूले प्रमुख प्रशासनिक निकाय सिंहदरबार, संसद् भवन र न्यायपालिकालाई समेत आक्रमणको तारो बनाएकोमा आमकर्मचारीहरूले जीवनमै सबैभन्दा बढी पीडा महसुस गर्नुपरेको भन्दै असन्तुष्टि पोखिरहेका छन् ।
कतिपय कर्मचारीहरूले त देश नै जलाउने गरी बाह्य परचक्रीको आँखा परेको भन्दै विरोधसमेत गरिरहेका छन् । उनीहरूले जेन–जी आन्दोलनको पवित्र उद्देश्यलाई घुसपैठीहरू छिरेर बद्नाम र कलंकित पार्ने काम गरेको भन्दै घटनाको स्वतन्त्र रूपमा छानबनि हुनुपर्ने माग गरेका छन् ।
जेन–जी आन्दोलनको क्रममा गत २४ भदौमा सिंहदरबारमा भएको आक्रमणले प्रशासनिक केन्द्र क्षतविक्षतजस्तै हुन पुगेको थियो । आक्रमण र आगजनी भएको सात दिनसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्य भाग जसलाई सिंहदरबार भनिन्छ, त्यो भाग जलेर धुँवा आइरहेको थियो । प्रधानमन्त्री कार्यालय जलेर ध्वस्त भएको छ । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्माण हुँदै गरेको गृह मन्त्रालयको नयाँ भवनमा सारेर त्यहीँबाट काम थालिएको छ । २४ गतेको अकल्पनीय आक्रमणपछि केही दिन सिंहदरबार खण्डहरजस्तै बन्न पुग्यो ।
सिंहदरबारलगायत देशभरका सरकारी कार्यालयहरू एकैपटक जल्दा जिल्लाका धेरैजसो सरकारी कार्यालय पनि खण्डहरजस्तै बने । जसका कारण आमकर्मचारीहरू अताल्लिए । आन्दोलनकारीहरूले सिंहदरबारमा राखिएका सयांै गाडीहरूलाई आगो लगाएर खरानी बनाइदिएका छन् । अहिले सिंहदरबारमा जाँदा गाडी तथा बाइकहरू जलेर कंकालजस्ता देखिएका छन् । आन्दोलनकारीहरूको अत्यधिक तारोमा गृह मन्त्रालय पनि परेको छ । सो मन्त्रालय ध्वस्त अवस्थामा रहेकाले अहिले पुरानो सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयको काम भइरहेको छ । कैयौं कर्मचारीहरू हिजोका ती दृश्यहरू सम्झदै आँखाबाट आँसु झारिरहेका छन् ।
कर्मचारीहरूका अनुसार आन्दोलनकारीहरूले सिंहदरबारमा आगो लगाएर गएपछि सेना तथा काठमाडौं महानगरपालिकाको दमकल समयमा नै पुग्न सकेको भए क्षति न्यून हुन सक्थ्यो तर सिंहदरबारका महत्वपूर्ण भवनहरू आगोले दन्किरहँदा त्यसलाई निभाउनेतर्फ कसैको पनि ध्यान गएन । जसका कारण धेरै क्षति व्यहोर्नुप¥यो । भदौ २४ गते सरकारका सबै सेवाहरू अवरुद्ध बन्न पुगे । भोलिपल्ट भदौ २५ मा सरकारका मुख्य सचिव एकनारायण अर्यालले सिंहदरबारमा आगलागी भएर धेरै भवनहरूमा क्षति भएको तथा देशका सरकारी कार्यालयहरू क्षतिग्रस्त भए पनि सबै सचिवहरूसँग भर्चुअल बैठक राखेर देशभरमा अत्यावश्यक र आधारभूत सेवा चालू गर्न निर्देशन दिनुभएको थियो ।
त्यसपछि मुख्य सचिव अर्यालकै सक्रियतामा २६ गते पनि सचिवहरूको जुम बैठक बसालेर आ आफ्नो कार्यालयमा भएको क्षति विवरण लिई काम थाल्ने तथा स्थानीय तहबाट सेवा चालू गराउन सबै स्थानीय तहलाई पत्राचार गरिएको थियो । मुख्य सचिव अर्यालले चुनौती र संकटको अवस्थामा नै निजामती कर्मचारीहरू नागरिकको सेवामा खट्नुपर्ने भएकाले सोहीअनुसार आफूहरू अघि बढेको बताउनुभयो ।
त्यतिबेला मुलकभर कफ्र्यु लागेको थियो भने सुरक्षाको कमान्ड नेपाली सेनाले सम्हालेको थियो । ‘अहिले सबै कर्मचारीहरू कार्यथलोमा खटिसक्नुभएको छ, यो चुनौतीको समयमा अधिकतम रूपमा काममा खटिएर परिणाम निकाल्न सबैलाई आवश्यक निर्देशन गरिएको छ ।’ मुख्य सचिव अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले कफ्र्युका बीचमा पनि कर्मचारीहरूलाई आवश्यकताअनुसार परिचालन गरिएको बताउनुभयो । ‘अहिले त अवस्था सामान्य भइसकेकाले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काममा खट्न आवश्यक निर्देशन गरिए पनि केही निराशा अझै रहेको छ । तर, निराश हुनुहुँदैन, देश बनाउने चुनौती आइपरेको सम्झेर चुनौतीलाई अवसरमा बदल्ने गरी काममा खट्नुपर्छ ।’ सचिव पन्थले भन्नुभयो ।
मन्त्रालयका अधिकारीहरूका अनुसार आन्दोलनकारीहरू सोही दिन ३ बजेतिर सिंहदरबार प्रवेश गरी मन्त्रालयहरूमा आगाजनी गर्न थालेका थिए । केही मन्त्रालय आन्दोलनकारीको निसानामा पर्नबाट जोगिए पनि मन्त्रालयका गाडी र मोटरसाइकल भने करिब करिब ध्वस्त बनेका छन् । सबैभन्दा ठूलो निसानामा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय परेका छन् । त्यहाँका अधिकांश कोठा, भित्ता र सवारीसाधनरू पूर्ण रूपमा नष्ट भएका छन् । परराष्ट्र मन्त्रालयको मुख्य भवनमा क्षति कम भए पनि पछाडिको सानो भवनमा भने क्षति बढी भएको छ ।
पार्किङमा रहेका सवारी साधन जलाइएका छन् र नजलाइएका गाडीमा डण्डाले प्रहार गरी शिशाहरू फुटाइएको छ । तीनवटा गाडी पूर्ण रूपमा ध्वस्त छन् भने बाँकी सवारी साधनमा तोडफोड गरिएको छ । यस्तै अर्थ मन्त्रालयको पछाडिको भागमा क्षति पुगेको छ ।
राष्ट्रिय सतर्कता केन्द्र पनि क्षतिग्रस्त बन्न पुगेको छ । यसै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि क्षति पुगेको छ । सो मन्त्रालयका कतिपय कोठामा अहिले पनि आगोको गन्ध आइरहेको कर्मचारीले बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने जोगिएको छ । केवल भुईं तलाको झ्यालका सिसा फुटेका छन् ।
सिंहदरबारनजिकै रहेको नरसिंह दल गण र त्यस नजिकैको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भवन भने सुरक्षित छन् ।
त्यतिमात्रै नभएर गणकै नजिकै रहेको कसुरजन्य विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग तथा त्यहाँको डाटा सेन्टर पनि सुरक्षित रहेको छ । नेपाली सेनाका अधिकारी र सुरक्षा गार्डले आन्दोलनकारीलाई केही नगर्न अनुरोध गरेपछि पुरानो गृह मन्त्रालयको भवनमा आगजनी वा क्षति नभएको हो । संघीय संसद्को नयाँ भवन पनि सुरक्षित रहेको छ । कृषि तथा पशुपंन्छी विकास मन्त्रालय पनि सुरक्षित रहेको छ, यद्यपि पार्किङमा रहेका केही सवारी साधनमा क्षति पुगेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पार्किङमा रहेका सवारी साधन जलाइएका छन्, जसको धँुवाले संसद् सचिवालयको बाहिरी भित्तामा कालो धब्बा बनाएको छ ।
सहरी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रशासकीय अदालत र सिंहदरबारको सर्भिस सेन्टर (सिंहदरबारको प्रमुख क्यान्टिन) पनि जोगिएका छन् । यद्यपि बाहिर रहेका सवारी साधनमा तोडफोड गरिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा आगजनी भएको छैन । तर, पार्किङमा रहेका करिब दर्जन सवारी साधन ध्वस्त भएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पार्किङमा रहेका अधिकांश सवारी साधन ध्वस्त भए, बाँकीमा तोडफोड भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भूमिगत पार्किङमा आगो लगाएर सबै सवारी साधन नष्ट भएका छन् । मन्त्रालयको अगाडिको सवारी साधन पनि जलाइएको छ । मन्त्रीको सचिवालय र कार्यकक्षमा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आगो लगाइएको छैन, मात्र पछाडिको पार्किङमा क्षति पुगेको छ । वन तथा वातावरण मन्त्रालय सुरक्षित छन्, तर बाहिरी सवारी साधनमा तोडफोड र आगजनी भएको छ ।
भत्केका भवनको अध्ययन गर्न निर्देशन
ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनकारीहरूले लगाएको आगजनीबाट क्षतिग्रस्त बनेका भवनहरुको अध्ययन गरी प्रयोग गर्न मिल्ने भएमा रंगरोगन कार्य थाल्न निर्देशन दिनुभएको छ । साथै उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्ने क्रममा उहाँले मातहतका निकायलाई तत्काल त्यहाँको फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित मन्त्री घिसिङ अवलोकनमा पुगेका थिए ।
सो क्रममा घिसिङले फोहोर सफा गर्ने र काम लाग्ने कोठाहरू रङरोगन गरी सञ्चालनमा ल्याउने व्यवस्था तत्काल मिलाउन तथा अन्य मन्त्रालयमा पनि सोही अनुसारको काम गर्न निर्देशन दिनुभयो ।











प्रतिक्रिया