जेन–जी आन्दोलनका घाइतेले प्रधानमन्त्रीसँग भने- ‘२०४८ सालपछिका उच्चपदस्थको सम्पत्ति छानबिन होस्’

3.85k
Shares

–कार्यकारी प्रमुख प्रत्यक्ष छान्ने गरी व्यवस्था गर्न माग

–सबै मृतकलाई सहिद घोषणा गर्नुपर्ने

–घाइतेको उपचार निःशुल्क

काठमाडौं।

भ्रष्टाचारविरुद्धको जेन–जी आन्दोलनमा घाइते भएका दर्जनांै युवाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकमा व्याप्त भ्रष्टाचार रोक्न र २०४८ सालपछि उच्चपदमा बसेका सबै सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । अस्पतालको श्ययामा छट्पटाउँदै रहे पनि उनीहरूले देशको चिन्ता व्यक्त गर्दै भ्रष्टाचारले मुलुकलाई खोक्रो बनाएको र भ्रष्टाचार जुनसुकै हालतमा पनि रोकिनुपर्नेमा प्रधानमन्त्री कार्कीको गम्भीर ध्यानाकृष्ट गराएका छन् ।

जेन–जी आन्दोलनकै रापतापले कार्की शुक्रवार प्रधानमन्त्री हुन सफल हुनुभएको थियो । त्यसैले उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको भोलिपल्टै शनिवार काठमाडौंका विभिन्न अस्पतालमा पुगी उपचार गरिरहेका आन्दोलनका घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिँदै उनीहरूको मनोविज्ञान बुझ्नुभएको थियो । ट्रमा सेन्टरमा एक घाइते बिरामीले प्रधानमन्त्रीलाई सीधा माग राख्दै भने– ‘२०४८ सालपछि नेतृत्व गरेका सबै नेताहरूको सम्पत्ति छानबिन होस् । भ्रष्टाचारले मुलुकलाई खोक्रो बनायो प्रधानमन्त्रीज्यू त्यसैले यसलाई रोक्न गम्भीर हुनुप¥यो ।’ उनले मुलुकमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताए ।

आन्दोलनले उठाएको मुख्य मुद्दा नै भ्रष्टाचारविरुद्ध भएको हुँदा बिरामीहरूको माग पनि सोही विषयमा केन्द्रित थियो । प्रधानमन्त्री कार्कीले पनि बिरामीहरूले उठाएको भ्रष्टाचारविरुद्धको आवाजमा टाउको हल्लाउँदै समर्थन जनाउनुभएका थियो । उहाँले बिरामीलाई भेट्दा हरेकलाई नआत्तिन आग्रह गर्दै भन्नुभयो– ‘तपाईंहरूको योजना र भावनाको कदर गर्दै म काम गर्छु ।’ ट्रमा सेन्टरका मेसु डा. बद्री रिजालका अनुसार प्रधानमन्त्रीले अस्पताल प्रशासनलाई बिरामीको उपचारमा कुनै कमी आउन नदिने गरी सक्दो राम्रो सेवा दिन निर्देशन दिनुभएको छ । शनिबार झण्डै ३ घण्टासम्म उहाँले जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा गएर भेट्नुभएको थियो ।

प्रधानमन्त्री कार्की ३ घण्टाको समयमा राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी (सिभिल) अस्पताल नयाँ बानेश्वर, काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताललगायतमा पुग्नुभयो । दिउँसो २ बजेदेखि सुरक्षाकर्मीको बाक्लो घेराबन्दीबीच बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिन अस्पताल प्रवेश गर्नुभएकी प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टरमा मात्रै झन्डै एक घण्टा बिताउनुभयो । त्यहाँ आन्दोलनका क्रममा गोली तथा चोटपटक लागेर भर्ना भएका ३६ जना बिरामीलाई एकएक गर्दै भेटनुभयो ।

भेट्ने क्रममा प्रधानमन्त्रीले बिरामीलाई ‘तपाईंहरूको पीडा मेरो पहिलो प्राथमिकता हो, म तपाईंहरूको गुनासो सम्बोधन हुने गरी काम गर्छु’ भन्दै आश्वासनसमेत दिनुभयो । उहाँले अस्पतालको उपचार सुविधा कस्तो छ भनेर सोध्दा अधिकांश बिरामीले उपचार सन्तोषजनक रहेको जवाफ दिएका थिए । ट्रमा सेन्टरपछि उहाँ सिभिल अस्पताल पुग्नुभयो । त्यहाँ आन्दोलनमा घाइते भएकाहरूमध्ये भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिएर निःशुल्क उपचार गर्न निर्देशन दिनुभयो । उहाँको भेटघाट करिब १५ मिनेट लामो रह्यो ।

त्यसपछि उहाँ केएमसी अस्पताल पुग्नुभयो । त्यहाँ पनि बिरामीले प्रधानमन्त्रीसँग आन्दोलनका मृतकलाई सहिद घोषणा गर्न र सबै घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न माग गरे । कार्कीले अस्पताल प्रशासनलाई बिरामीले बाहिर निस्कँदा सकारात्मक अनुभूति हुने सेवा दिन निर्देशन दिनुभयो ।

उता, त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १४ जनाको शव शुक्रवारदेखि शनिवारसम्म पोस्टमार्टमा गरिसकिएको र आफन्तलाई बुझाइएको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार अन्य केही शव अझै पोस्टमार्टम प्रक्रियामा छन् । त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागमा ३८ जनाको शव रहेको अस्पतालले जनाएको छ ।

मृतकका आफन्तले अस्पताल बाहिर शान्तिपूर्ण जुलुस गर्दै शवलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै शनिवार वालुवाटारस्थित प्रधानमन्त्री निवाससम्म गएका थिए । गोली लागेर मरेका सबैलाई सहिद घोषणा गर्नुपर्नेमा आफन्तहरूको जोड थियो । भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनमा राज्यले ५१ जनाको मृत्यु भएको आधिकारिक घोषणा गरेको छ । तर, आफन्तका अनुसार अझै केही व्यक्ति हराइरहेका छन् र भेटिएका छैनन् । घाइतेहरूको संख्या झन्डै १,८०० भन्दा बढी छ । अस्पतालमा उपचाररत धेरै घाइतेको अवस्था गम्भीर छ । कतिपयको हातखुट्टा, छाती र टाउकोमा गम्भीर चोट लागेको छ । मृतकको सूची र सहिद घोषणाबारे राज्यले अझै स्पष्ट धारणा नबनाएकाले आफन्त अनिश्चिततामा छन् ।

आफन्तको क्रन्दनले वातावरण भावुक

अस्पताल परिसरमा मृतकका आफन्तको करुण क्रन्दनले वातावरण गम्भीर बनेको थियो । वानेश्वर, कुलेश्वर, बालुवाटार, ललितपुरलगायत स्थानमा गोली लागेर मारिएका युवाको शव देखेपछि उनीहरूका आमाबाबु, श्रीमती र दिदीबहिनीले चिच्याउँदै रोइरहेको दृश्य अत्यन्तै पीडादायी देखिन्थ्यो । एक मृतककी श्रीमतीले छाती पिट्दै भनिन्– ‘मैले तिमीलाई मन परेर किनिदिएको सर्ट यही हो, आज तिमीले लगाएका रहेछौ । अब म तिमीलाई कसरी बिर्सूं ?’ अर्को एक आमाले चिच्याइन्– ‘मेरो छोराले देशका लागि रगत दियो, देशले उसलाई कसरी सम्बोधन गर्छ ?’ यस्तै, कीर्तिपुरका एक बाबुले सुरक्षाकर्मीलाई सोध्दै थिए– ‘अब मेरो छोराको शव कसरी लैजाने ? राज्यले सहिद घोषणा गर्न के गर्नुपर्छ ?’ बालुवाटारमा गोली लागेर श्रीमान बितेकी एक चौधरी थरकी श्रीमतीलाई आफन्तले सम्हाल्नै सकेका थिएनन् । श्रीमान्को शव देखेपछि पीडामा पुगेकी उनलाई माछा उफ्रिएजस्तै लडिबुडी गरेर भुइँमा लडेर छटपटाइरहेको अवस्थामा आफन्तले सम्झाउँदै गर्दा उनी भन्दै थिइन्– ‘अब त्यो २ वर्षको अबोध बालकलाई मैले कसरी बाबु मरेको कुरा सुनाउने । मैले कसरी अघि बढ्ने ? २७ वर्षको मेरो श्रीमान् यो देशका लागि मरेको छ । देशले मेरो श्रीमान्को रगतको मूल्य कसरी चुकाउँछ ?’