कोइराला निवासमा आगजनी : लोकतन्त्रको धरोहर ध्वस्त’


काठमाडौं ।

विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा जेनजी विद्रोहको दोस्रो दिन आगजनी र लुटपाट भएको छ । भदौ २४ गते दिउँसो सयौं आन्दोलनकारीले पर्खाल भत्काएर घरभित्र प्रवेश गरी सामान लुटपाट गरेका र घरमा आगो लगाइदिएका हुन् । आगलागीमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बसेको पुरानो घरसहित अन्य संरचना पूर्णरूपमा जलेका छन् ।

आन्दोलनकारीले गिरिजाप्रसाद कोइरालाले चढ्ने पुरानो गाडी पनि जलाएका छन् भने निवासमा पालिएको गाई समेत लगेको बताइएको छ । कांग्रेस नेताहरूले यसलाई व्यक्तिगत रिसिइबीका कारण गरिएको बताउँदै यसलाई ‘लोकतन्त्रवादीहरूको आस्थामाथिको आक्रमण’भनेका छन् । उनीहरूले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।अहिले उक्त निवासमा कांग्रेस नेता डा. शेखर कोइराला बस्दै आएका थिए ।

केही समययता कोइराला विराटनगर आएका थिएनन् । काठको घर, टिनको छानो र बाँसका भित्तामा माटो लेपन गरिएको एक सय वर्षभन्दा पुरानो घरलाई जोगाउन डा. शेखर कोइरालाले निकै मेहनत गरेको चर्चा हुने गरेको थियो ।कोइराला निवासको एउटा घर राणाकालमै बनेको थियो ।  ‘

राणासँग जुधेर, राणासँग लड्दा पनि बचेको घर हो त्यो । त्यो सबैले सेल्टर लिने घर थियो । विभिन्न प्रजातान्त्रिक आन्दोलनको लडाइँमा दुःख पाएका मान्छेहरू, टुहुरा बालबालिकाहरूको रेखदेख गर्ने, हुर्काउने, बढाउने काम पनि त्यहाँबाट हुन्थ्यो । आज ध्वस्त गरिएको छ यो एकदम निन्दनीय कार्य भएको छ,’एक स्थानियले भने

कोइराला निवासमै तीन पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको बाल्यकाल बितेको थियो । मुलुकका लागि धेरै प्रधानमन्त्री जन्माउने घरका रुपमा कोइराला निवासलाई लिने गरिन्छ ।

राणा शासकबाट विस्थापित कोइराला परिवार चन्द्रशमशेरको निधनपछि वि।सं। १९८६ सालमा विराटनगर फर्किएका थिए । बुवा कृष्णप्रसाद कोइरालाले स्वदेश फर्केपछि विराटनगरमै घर बनाए । त्यतिबेला बनाएकै घर अहिले पनि कायमै थियो ।

कृष्णप्रसादले बनाएको यही घरबाट बीपीले सात सालको क्रान्ति सम्पन्न गरे । २०१५ को पहिलो आमनिर्वाचनमा बीपी यहीँबाट विजयी भए अनि २०३७ को जनमत संग्रहमा यही घरबाट कांग्रेसले आफ्नो मुख्य प्रचारप्रसारको काम गरेको थियो ।

पञ्चायतको आउटपोस्ट कब्जा गर्ने नाममा गाउँ पञ्चायत र नगर पञ्चायतको निर्वाचन २०४४ मा सहभागिता, जनआन्दोलन २०४६ र दोस्रो जनआन्दोलन २०६२–६३ मा पनि कोइराला निवासको योगदान नेतृत्वदायी भुमिका रहेको थियो ।