धादिङ ।
काठमाडौंका विभिन्न कारागारबाट भागेका मध्ये ३५ जना कैदीबन्दीलाई बिहीबार धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
जेन-जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका मध्ये आज बिहान मात्रै ३५ जनालाई गजुरी चेक प्वाइन्टबाट नेपाली सेनाले नियन्त्रणमा लिएको हो । बुधवार तीन जनालाई धादिङकै गल्छी बैरेनीबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएकाहरुमा केन्द्रीय कारागारबाट भागेका २१ जना, नख्खु कारागारका नौं जना, भीमफेदी कारागारका चार जना, भद्र केन्द्रीय कारागारबाट भगेका मध्ये एक जनालाई पक्राउ गरिएको धादिङको गजुरीस्थित भैरवनाथ गणका कर्णेल असीम श्रेष्ठले जानकारी दिए ।
पृथ्वीराजमार्गका विभिन्न स्थानहरुमा नेपाली सेनाले बुधबारदेखि चेकजाँच गरिरहेको छ । चेकजाँचको क्रममा सोधिखोजी गरेर कैदीबन्दीहरुको पहिचान गर्ने गरिएको कर्णेल श्रेष्ठको भनाई छ ।
नेपाली सेनाले साना तथा ठुला जुनसुकै सवारी प्रयोग गर्ने र पैदल हिडेर आउजाउ गर्नेहरुलाई समेत चेकजाँच गरिरहेको छ । केहीलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो ।
बुधवार नियन्त्रणमा लिइएका तीन जनालाई बैरेनी प्रहरीको जिम्मा लगाएपनि बिहिबार (आज) नियन्त्रणमा लिइएको ३५ जनालाई सेनाले गजुरीस्थित भैरवनाथ गणमा नै राखिरहेको र उनीहरूको व्यवस्थापनको लागि नेपाल प्रहरीसँग समन्वय भइरहेको कर्णेल श्रेष्ठले जानकारी दिए ।











प्रतिक्रिया