अन्तरिम सरकार गठनमा अलमल हुँदा अन्योल बढ्दो

सुशीला कार्कीको नाममा सहमति जुट्ने सम्भावना, विवाद कायमै


–हर्कका पक्षधर जेनजीद्वारा सैनिक मुख्यालयमै नाराबाजी

जेन–जीबीच विवाद समाधानको प्रयास

–बालेनले रुचि देखाएनन्

–कुलमान, हर्कका बारेमा पनि छलफल

काठमाडौं।

देशको राजनीतिमा उलटपुलट ल्याउन सफल जेन–जी समूहले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटाउने प्रयास गरेको छ । कार्कीको नाममा धेरैले सहमति जनाए पनि विकल्पमा हर्क साङपाङ, कुलमान घिसिङलगायतको नाममा पनि छलफल जारी छ । यद्यपि, कसलाई बनाउने भन्नेमा पूर्ण सहमति भने जुटिसकेको छैन।

केही जेन–जीले भने जेन–जी पुस्ताबाटै अन्तरिम सरकारको नेतृत्व हुनुपर्ने भन्दै अडान जारी राखेका छन् । जेन–जी पुस्तामा काठमाडौंका मेयर बालेनको नाम पनि आएको तर बालेनले अन्तरिम सरकार प्रमुखमा रुचि नदेखाएकाले उहाँको बारेमा खासै छलफल नभएको जेन–जी प्रतिनिधिले जनाएका छन् । हर्कका पक्षधर जेनजीद्वारा सैनिक मुख्यालयमै नाराबाजी गरिएको थियो ।

जेन–जीले बुधबार सामाजिक सञ्जालमा प्रत्यक्ष डिस्कोर्स गर्दै अन्तरिम सरकारका लागि प्रस्तावित नाममा आफ्नो समूहमा भोटिङ नै गरेको थियो । त्यस क्रममा अधिकांशको सुझाव र भोटिङ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पक्षमा देखिएपछि जेन–जीले अन्तरिम सरकारको नेतृत्वका लागि कार्कीको नाम प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष प्रस्ताव गर्ने बताए पनि त्यसमा पूर्ण रूपमा सहमति भने हुन सकेको छैन । तर, जेन–जीले यसमा पनि पूर्ण रूपले सहमति जनाउन सकेका छैनन् ।

भ्रष्टाचारविरुद्धको आन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएको र सोमबारको प्रदर्शनमा निर्णायक भूमिकामा रहेको युवाहरूको संस्था हामी नेपालीका अध्यक्ष सुदन गुरुङको समूह पनि अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले नै गर्नुपर्ने प्रस्ताव गर्दै आइरहेको छ । यससँगै पहिलो महिला प्रधानन्यायधीशको कीर्तिमान राख्न सफल कार्की नेपालको पहिलो प्रधानमन्त्रीको कीर्तिमानी बनाउनसमेत सफल हुने सम्भावना देखिएको छ । प्रधानमन्त्रीका लागि कुलमान घिसिङले पनि इच्छा व्यक्त गर्नुभएको छ ।

आगामी राजनीति कार्यदिशाका बारेमा विवाद

अबको राजनीति कार्यदिशा के हुने भन्नेमा जेन–जी समूह अन्योलमा देखिएको छ । राजनीतिक कार्यदिशाका बारेमा उनीहरू छलफलमा नै रहे पनि निष्कर्षमा पुग्न सकस देखिएको छ । यद्यपि बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले राख्नुभएको छलफलमा आगामी राजनीतिक कार्यदिशाका बारेमा जेन–जी समूहबीच मतक्य देखिन नसकेपछि प्रधानसेनापतिले एउटै मत लिएर आउन आग्रह गर्नुभएको छ । सो छलफलका क्रममा जेन–जी समूह पहिला छुट्टै बसेको थियो । त्यस क्रममा एक जेन–जी समूहले हिन्दु राज्य र राजसंस्थालाई पनि स्पेस दिएर जानुपर्ने तर्क गरेको थियो भने अर्को पक्षले गणतन्त्रभित्रै रहेर भ्रष्टाचार नियन्त्रण, सुशासनलगायतलाई विशेष मुद्दा बनाउनुपर्ने तर राजतन्त्रमा अब फर्कन नसकिने बताएको थियो । यस विषयमा उनीहरू अझै पनि छलफलमै रहेको बताएका छन् । यद्यपि, जेन–जीका अधिकांश सदस्यहरू गणतन्त्रकै पक्षमा देखिएका छन् । जेन–जीमा राजतन्त्रको आवाज उठाउनेको संख्या भने निकै कम रहेको पाइएको छ ।

नेपाली सेनाको भूमिकाप्रति जेन–जी संशकित

जेन–जी कुनै पनि राजनीतिक दल र विवादित व्यक्तिलाई आफूहरूसँगको वार्तामा राख्न नहुने अडानमा एकमत छन् । तर, प्रधानसेनापति सिग्देलले आफूहरूलाई बोलाएर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसार्इं र रास्वपासँग समेत छलफल गर्न भनेपछि आफूहरू संशकित भएको जेन–जी प्रतिनिधिले बताएका छन् ।

नेपाली सेनाले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न बाध्य बनाएको जेन–जी अभियन्ता रक्षा बमले बताउनुभएको छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईं र रास्वपा समूह पनि वार्तामा सामेल भएपछि आफूले वार्तास्थल छाडेर निस्किएको उहाँले स्पष्ट पार्नुभएको छ ।
बमले लेख्नुभएको छ, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् । उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनिसकेपछि, जेन–जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरियौं ।’

‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जी प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउँमा आएर आफ्नो माग राख्नेछौं, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित सेना प्रमुखसमक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियांै’ –उहाँले प्रस्ट पार्दै लेख्नुभएको छ।