काठमाडौं
नेपालमा गएको ४८ घण्टामा जेजे भए, ती घटनाक्रमको साक्षी हामी बसेका छौँ, शासक र नयाँ पुस्ताको व्यवहार गम्भीर समीक्षाको विषय भएको छ । पुराना शासकहरूबाट बेथिति व्यहोरेका र कुशासन व्यहोरेका हामी जेनजी पुस्ताको मंगलरवारको सार्वजनिक सम्पत्ति तवाह बनाउने नीतिबाट पनि शंकातर्फ मोडिन बाध्य भएका छौं । शासकहरू भागिसकेपछि पनि जुन हदमा मुलुकका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका रूपमा रहेका सिंहदरबारका सबै मन्त्रालयहरू जलाउनु, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास बालुवाटार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकाय जल्नुले जेनजी पुस्ताप्रति पनि संशय र दुःखित तुल्याएको छ ।
छिमेकी देशहरूमा श्रीलंका र बंगलादेशमा जनताले शासक लखेटिसकेपछिका दिन पनि सहज थिएनन् । व्यवस्था कायम गर्न, हिंसा साम्य पार्न र जनजीवनलाई लयमा ल्याउन ती देशमा लामो समय लागेको थियो । त्यसको मूल्य आम मान्छेले चुकाउनुपरेको थियो ।
नेपालमा जेनजी आन्दोलन यसर्थ अलग छ कि एकै दिनको प्रदर्शनले यति ठूलो परिवर्तन यसअघि कहिल्यै गरेको थिएन । यो ऐतिहासिक त छ तर व्यवस्थापन निकै चुनौतीपूर्ण पनि । युवाहरूको काँधमा जिम्मेवारी त आएको छ यससँगै तत्काल दुईवटा खतरा देखिँदै छन् । पहिलो– अनियन्त्रित हिंसा । यो अब पूर्ण रूपमा रोकिनुपर्छ । प्रदर्शनकारीको आक्रोश सार्वजनिक र निजी सम्पत्तिमाथि पोखिँदै छ भने व्यक्तिमाथि भौतिक हमला भइरहेका छन् । यसले आन्दोलनलाई क्षति पु¥याउँछ भन्ने कुरामा आन्दोलनरत पक्ष सचेत हुनुपर्छ । यो चिन्ताजनक संकेत हो । यसलाई तत्काल रोक्न आवश्यक छ । हिजोको दिनमा राजनीतिलाई बदनाम बनाउने र भ्रष्टाचारमा लिप्त राजनीतिका खलनायकहरू या त भागिसकेका छन्, या पक्राउ परिसकेका छन् । प्रहरीले पूरै रूपमा हात उठाइसकेको छ । लत्तो छाडिसकेको छ । यस्तोमा संयम अपनाउने सम्पूर्ण जिम्मा आन्दोलनकारीको काँधमा छ । अन्यथा यसले आन्दोलनको छवि त बिगार्छ नै, मुलुकलाई थप अप्ठेरोतर्फ हुत्याउन सक्छ ।
दोस्रो– अब पहलकदमी जेनजीको हातमा रहला कि नरहला र पुरानो सत्ता ढलिसकेको र नयाँ सत्ता स्थापना हुन नपाएको यो रिक्ततामा अनेक समूहले आफ्नो दुनो सोझ्याउने चेष्टा गर्न सक्छन् । नागरिकका हकअधिकार अपहरण गर्न सक्छन् । कतिपयले सेनालाई अघि सार्न पनि खोजिरहेका छन् । पुरातनपन्थी शक्तिहरूको मुख मिठ्याइ हेर्नलायक छ । तर, यसो हुनु भनेको यो पुस्ताको आन्दोलन र करिब बिसभन्दा बढी युवाको बलिदान खेर जानु हो । त्यस्ता स्वार्थी तत्व हाबी भए भने जेनजी पुस्ताका मुद्दा स्वतः किनारा लाग्ने छन् । सेना आफ्नै लागि पनि राजनीतिमा मिसिनु प्रत्युत्पादक हुन सक्छ । त्यसैले अलग्गै बसेर उसले स्थायित्वका लागि सघाउनु उचित हुन्छ । सेनाले सहजीकरण गर्ने हो र मुुलुकमा गम्भीर खालका संकटहरू आउन नदिने हो । यसका लागि मंगलवारदेखि नै सेनाले पहलकदमी लिइसकेको छ । यो पहलकदमी स्वागतयोग्य भए पनि केही ढिलाइ भएको छ । सेनाको पहलकदमी अघि नै राज्यका प्रमुख संरचनाहरू खरानी भइसकेको दुःखदायी अवस्था छ ।
यतिबेलाको आवश्यकता भनेको आन्दोलनकारी शक्तिसमेतको सहभागितामा नागरिक सरकार हो । जसले चाँडो चुनाव गराएर जनादेश प्राप्त सरकारलाई सत्ता सुम्पिन सक्छ । त्यस्तो सरकारले मात्र जेनजीको आकांक्षालाई सम्बोधन गर्छ । नेपाल त्यस्तो अभिशप्त देश हो– जहाँ सधैँ कुपात्रहरू सत्तामा पु¥याइए । अब त्यस्ता कुपात्रहरू सत्तामा छिर्ने अवस्था नै सिर्जना हुन नसकोस् यस विषयमा जेनजी पुस्ताले विशेष ध्यान दिनुपर्छ ।
बहुदल आएपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र कमल थापाजस्ता पञ्चायतका हस्तीहरूलाई दूधले नुहाइयो । मान्छेहरूले छिन्ताङ, पिस्कर हत्याकाण्ड बिर्से अनि उनीहरूलाई पटकपटक प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बसाइयो । अनेक विकृतिमा मुछिएका शेरबहादुर देउवाले ०५८ सालमा संकटकाल लगाए । सत्ताका लागि पार्टी फुटाए । कुनै पनि सभ्य देशमा देउवाको राजनीतिक करिअर त्यतिबेलै समाप्त हुने थियो । तर, नेपालमा त्यसो भएन । जनआन्दोलन २ मा आएर मिसिएपछि उनी पूरै चोखिए । त्यसयता पटकपटक प्रधानमन्त्री बने । धेरै काण्डहरू मच्चाए तर त्यसका बाबजुद पनि साम,दाम, दण्ड, भेद अपनाएर चुनाव जितिरहे र सत्ताको तर चाखिरहे ।
सशस्त्र द्वन्द्वपछि पुष्पकमल दाहाल प्रचण्डलाई नागरिकहरूले मत दिएर मौका प्रदान गरेका थिए । तर, उनमा शासन चलाउने खुबी देखिएन । एकपटक असफल भइसकेपछि उनलाई पनि बिदा गर्नुपर्ने थियो । तर, त्यसो भएन । १७ हजार नागरिकलाई बलिबेदी चढाएर शासनमा आएका प्रचण्ड पनि पूरै असफल भए उनी पनि भ्रष्टाचारमा चुर्लम्म नै डुबे ।
केपी शर्मा ओलीको हकमा त उनी गणतान्त्रिक युगमा पटकपटक सुनौलो अवसर पाउँदा पनि त्यसलाई उपयोग गर्न सकेनन् । दुई तिहाइ बहुमतको नेकपा सरकारलाई सफल बनाएर सुनौलो इतिहास रच्ने अवसर उनलाई थियो तर त्यो मौका गुमाए र अहिले खलनायक बन्न पुगे । उनलाई पार्टीले, नभए मतदाताले राजनीतिबाट सदाका लागि बिदा गर्नुपथ्र्यो । तर, त्यसो भएन । उनी खेलोफड्को गरेर फेरि सत्तामा उक्लिए । आफ्नो दलका नेता–कार्यकर्तालाई दाससमान बनाए र इसारामा नचाए । नेताहरूले नयाँनयाँ झुट सिर्जना गर्ने आफ्नो खुबीलाई प्रयोग गरेर देश र नागरिकको भविष्यको लात्ते भकुण्डो खेलिरहे । त्यही खेलमा रमाएर सञ्चारमाध्यम र समाजका अगुवाहरूले ताली पिटिरहे । आम नागरिकको डरलाग्दो निराशामा तिनको नजरै परेन । यसपटक नयाँ पुस्ताको आन्दोलनले दलदल बनेको यो दलतन्त्रको जरा काट्न सम्भव छ । यो जेनजी पुस्ताले गर्न सक्छ । यो जिम्मेवारी नयाँ पुस्ताको काँधमा छ ।











प्रतिक्रिया