समाचार
काठमाडौँ । देशभर चर्किएको जेन–जी आन्दोलनले कारागारसम्म गम्भीर असर पुर्याएको छ। सोमबार साँझ कास्की र तुलसीपुर कारागारमा भएको उग्र प्रदर्शनपछि करिब एक हजारभन्दा बढी कैदीबन्दी निस्किएको पुष्टि भएको छ।
कास्की कारागारका अनुसार, कारागारमा रहेका ९८१ कैदीबन्दीमध्ये ९ सय बढी कैदी निस्केका छन्। दिउँसो प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको भए पनि साँझ परेपछि सुरक्षा निकाय पछाडि फर्किएको थियो। त्यसपछि प्रदर्शनकारीहरूले कारागारमा प्रवेश गरी कैदीलाई बाहिर निकालेको प्रहरीले जनाएको छ।
यस्तै, तुलसीपुर कारागारमा पनि बेलुकी पाँच बजेतिर ठूलो संख्यामा कैदीबन्दी बाहिरिएका छन्। कारागार प्रमुख गिरबहादुर सेजुवालका अनुसार, एक ब्लकमा रहेका १७९ कैदीमध्ये १२४ जना गेटको पर्खाल तोड्दै निस्केका हुन्। बाँकी ५५ जना भने कारागारमै बस्ने निर्णयमा अडिग रहेका छन्।
कैदीहरू भाग्न खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरी नियन्त्रणमा लिन खोजेपनि भीड नियन्त्रणमा आउन सकेन। सेजुवालका अनुसार, प्रदर्शनकारीहरूले कारागार वरिपरि उत्पात मच्चाउँदै गेट भत्काएपछि कैदीबन्दीहरू सहजै निस्केका हुन्।
यसअघि जेनजी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरिसकेका थिए। आन्दोलन नियन्त्रण बाहिर जाँदा अब कारागारबाट निस्केका कैदीहरू समाजमा थप सुरक्षा चुनौती बन्न सक्ने चिन्ता बढेको छ।
सुरक्षा निकायका अनुसार, फरार कैदीहरूको खोजी कार्य सुरु गरिएको छ तर परिस्थितिलाई हेर्दा तत्कालै नियन्त्रणमा लिन कठिनाइ रहेको छ। कास्की र तुलसीपुरका घटना अन्य जिल्लाका कारागारमा पनि असर पर्ने सम्भावना सुरक्षाकर्मीहरूले औंल्याएका छन्।











प्रतिक्रिया