इन्द्रजात्रा पर्व कलंकीमा उल्लासपूर्वक मनाइयो


काठमाडौं ।

नेवारी समुदायको ऐतिहासिक र सांस्कृतिक धरोहर मानिने इन्द्रजात्रा पर्व राजधानी उपत्यकासहित देशका विभिन्न स्थानमा यस वर्ष पनि उल्लासमय वातावरणमा मनाइएको छ । एक सातासम्म चल्ने यो पर्वअन्तर्गत आइतबार कलंकीस्थित मन्दिर परिसरमा कलंकी माँ नेवाः पुच ये. ले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रममा स्थानीय बासिन्दा, धार्मिक अगुवा, युवा–युवती तथा वरपरका बस्तीका समुदायको बाक्लो सहभागिता देखिएको थियो । परम्परागत बाजागाजासहित सुरु भएको कार्यक्रममा विभिन्न नेवारी सांस्कृतिक प्रस्तुति, ऐतिहासिक महत्व बोकेको लाखे नाच र बालबालिकादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो ।

नेवारी संस्कृति झल्किने भेषभूषामा सजिएका युवतीहरूको आकर्षक उपस्थितिले कार्यक्रमलाई अझै रोमान्चक बनाएको सहभागीहरू बताउँछन् ।

कलंकी माँ नेवाः पुच ये. का सचिव बलराम श्रेष्ठले भने, “इन्द्रजात्रा हाम्रो धर्म, संस्कार र सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो । स्थानीय समुदायबीच एकता, सहयोग र संस्कृतिको संरक्षण गर्न यसरी समय–समयमा कार्यक्रम गर्न आवश्यक हुन्छ ।”

उनका अनुसार हरेक वर्ष निरन्तर आयोजना हुँदै आएको यस कार्यक्रमले नयाँ पुस्तालाई संस्कृतिप्रति आकर्षित गर्ने र स्थानीय समुदायलाई अझ नजिक ल्याउने उद्देश्य राखेको छ ।


इन्द्रजात्रा पर्वलाई काठमाडौं उपत्यकामा विशेष पर्वका रूपमा मानिन्छ । देवता इन्द्रलाई सम्झेर सुरु गरिने यो पर्वमा विभिन्न जात्रा, नाचगान, भजनकीर्तनदेखि देवदेवीको शोभायात्रा निकाल्ने परम्परा रहँदै आएको छ ।
कलंकी मन्दिरपरिसरमा आयोजित यस वर्षको कार्यक्रमले पनि स्थानीयलाई मात्र होइन, वरपरका क्षेत्रबाट आएका दर्शकलाई समेत आकर्षित गर्न सफल भएको आयोजक समितिको दाबी छ ।