काठमाडौंमा मनाइने महान जात्रामध्ये इन्द्रजात्रा पनि पर्दछ । यो जात्रा काठमाडौंको मुटुमा रहेको वसन्तपुर दरबार वरिपरि मनाइने गर्छ । हरेक वर्ष हुने यो जात्रा राजा गुणकामदेवको पालादेखि मनाउँदै आएको भनिन्छ । इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण पन्चमीसम्म गरी आठ दिनसम्म मनाउने गर्दछ । भाद्र शुक्ल द्वादशीको दिन हनुमान ढोकामा बेहानै यःसिं (काठको लिंगो) उठाएपछि जात्रा शुरु भएको मानिन्छ ।

यःसिं उठाएपछि हरेक टोल टोलमा भैरवको मुर्तिहरु प्रदर्शनमा राख्दछन् । इन्द्रचोकको आकाश भैरवलाई बाहिर ल्याएर फूलले राम्रो सजावट गरेर राख्ने गर्छ । यही बेला विभिन्न नाचहरु पनि शुरु हुने गर्दछ । जसमा मुख्यरुपमा लाखे नाच, पुलुकिसि नाच, सवःभक्कु नाच, महाकाली नाच रहेका छन् । यस्तै आठ दिनसम्म वसन्तपुरस्थित कुमारी घर नजिकै रहेको मन्दिरमा दशअवतार पनि देखाउने गर्छ ।
इन्द्रजात्राको दिन थःनेयाः र क्वःनेयाः गरी लगातार दुई दिन जात्रा गरिन्छ । उक्त जात्रामा जिवित देवताहरु गणेश, भैरव र कुमारीको रथ तानिने गर्छ । भाद्र शुक्ल पूर्णिमाको दिन क्वःनेयाः गरिन्छ । क्वःनेयाः अर्थात् तल्लो टोलतिरको जात्रा हो ।
क्वःनेयाः मा वसन्तपुर दरबार हुँदै मरु, चिकंमुगल, जैशीदेवल, ज्याबहाल, लगन, ब्रम्हटोल, वनडे, ह्यूमत, कोहीटी हुँदै भिमसेनस्थानबाट वसन्तपुरमा पुगेर जात्रा टुंगिन्छ । यसैगरी भोलिपल्ट थःनेयाः यानि माथिल्लो टोलतिरको जात्रा मनाइन्छ । यो दिन वसन्तपुर दरबारबाट प्याफल, नरदेवी, न्ह्योखा, बांगेमुढा, असन, जनबहाल, इन्द्रचोक, मखन हुँदै वसन्तपुरमा गएर जात्रा टुंगिन्छ ।

यसैगरी आश्विन कृष्ण पन्चमीको दिन नानिचा या हुन्छ । यो जात्रामा पनि गणेश, भैरव र कुमारीको रथ तान्ने गर्छ । यो दिन इन्द्रजात्राको अन्तिम दिन हो । यो जात्रामा वसन्तपुर दरबारबाट प्याफल, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक, मखनको रुटमा रथ तान्ने गर्छ । यो जात्रा जंगबहादुरको पालोमा शुरु गरेको भनाइ छ । जंगबहादुरको मनपर्ने प्रेमिकालाई खुशी पार्न यो जात्रा तानेको हो भनिन्छ ।
यो जात्राको अन्तिम दिन भएको हुँदा जात्रा सकेपछि राष्ट्रप्रमुख आएर कुमारी, गणेश र भैरवको हातबाट टिका थाप्ने गर्छ । यसपछि यःसिं काठको लिंगो ढाल्छ र नदीमा लगेर बिर्सजन गर्छ । योसँगै इन्द्रजात्रा समाप्त हुन्छ ।
इन्द्रजात्रा मनाइनेमा एउटा किवंदन्ती पनि छ । किवंदन्तीअनुसार एक पटक स्वर्गका राजा इन्द्रकी आमा वसुन्धरालाई महादेवको पुजा गर्न पारिजात फूलको आवश्यकता भएको थियो । स्वर्गमा नपाउने भएकोले पारिजात फूल लिन इन्द्र स्वयम् पृथ्वीमा आउँछन् । पृथ्वीमा उनी नेपाल मण्डलमा पारिजात खोज्न आएका थिए । उनले मरुहिटीमा पारिजात फुलिरहेको देख्छन् र टिप्न थाल्छन् ।

इन्द्रले कसैलाई नसोधी फूल टिपेको देखेर स्थानीयवासीले उनलाई चोर भनेर समाते । इन्द्रले साधारण मान्छेको भेष बदलेको हुँदा उनलाई कसैले चिन्दैनन् । उनलाई डोरीले बाँधेर काष्ठमण्डपको बीचमा उभ्याउँछ । उता स्वर्गमा इन्द्रकी आमालाई चिन्ता हुन्छ कि उनका छोरा एक हप्ता बितिसक्दा पनि स्वर्ग पुगेका थिएनन् । इन्द्रकी आमा स्वयम् मरुहीटीमा आएर इन्द्रको परिचय दिन्छिन् र दुबै जना स्वर्गमा जान्छन् ।
स्वर्गमा जान अघि मरुहिटीका स्थानीयवासीले इन्द्रसँग बादल र कुहिरो माग्छन् । इन्द्र वर्षाको देवता भएकाले उनीहरुले बाली राम्रो हुनकालागि इन्द्रसँग बादल र कुहिरो माँगेका थिए । इन्द्रले पनि हुन्छ भनेर स्थानीयवासीलाई आश्वासन दिएर स्वर्ग फर्केका थिए । यही देखि इन्द्रजात्रा मनाएको भन्ने विश्वास गरिन्छ । राजा गुणकामदेवको पालामा १० औं शताब्दीमा इन्द्रजात्रा मनाएको विश्वास छ । कुमारीको रथ तान्ने प्रचलन भने १८ औं शताब्दीमा भएको मानिन्छ ।
उपाकु जाने
इन्द्रजात्राको पहिलो दिन यानि भाद्र शुक्ल द्वादशीको दिन एक वर्षभित्र मर्नेहरुको नाममा मृतकका आफन्तहरुले पालामा बति बालेर घुम्ने गर्छन् । यसलाई नै उपाकु जाने भनिन्छ । यसबेला पालामा बति बालेर निश्चित स्थानहरुमा मात्रै उपाकु जाने चलन छ ।
दागिं
येँया पुन्हि यानि इन्द्र जात्रामा क्वःनेयाः समाप्त भएपछि दागिं आउने गर्छ । दागिं मरुबाट शुरु हुने गर्छ । दागिंलाई इन्द्रकी आमाको प्रतिक हुन् । इन्द्र भेष बदलेर मरुहिटी आएर पारिजात फूल टिपेर स्वर्ग जान खोज्दा उनलाई स्थानीयले समात्छन् । इन्द्रकी आमा मरुहिटी आएर इन्द्रलाई छुटाएर लानेबेला स्थानीयले आफ्ना मरेकाहरुलाई स्वर्गमा भेट्न पाउँ भनेर माँगेका थिए । त्यसैले त्यो दिन दागिंसँगै घुमेर स्वर्ग जाने भन्दै मरुदेखि इन्द्रदहसम्म जान्छन् ।











प्रतिक्रिया