काठमाडौं ।
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज शुक्रवारदेखि शुरू हुँदै छ । सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दूरीमा पार्टीको १८ भव्य स्वागतद्वार निर्माण गरिएको छ । हँसिया–हथौडासहित सूर्य अंकित झण्डाले सजिएको बाटो पार्टी कार्यकर्ताका लागि उत्सवमय बनेको छ ।
यसपटकको महाधिवेशन स्थललाई एमालेले ‘एमाले डिजिटल वल्र्ड’ को अवधारणामा रूपान्तरण गरेको छ । पार्टीको प्रचार विभागका अनुसार यसपटकको मुख्य नारा निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य रहेको छ । एमालेले आफ्नो पहिलो महाधिवेशनदेखि बाँस, काठ र हस्तलिखित ब्यानरमार्फत मञ्च तथा स्वागतद्वार सजाउने परम्परा बनाएको थियो । प्रचार विभाग इन्चार्ज राजेन्द्र गौतमका अनुसार अहिलेको महाधिवेशन पूर्ण रूपमा डिजिटल प्रविधिसँग जोडिएको छ ।
मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठका अनुसार उद्घाटन समारोह परम्परागत ढाँचाबाट अलग हुनेछ । मंगल धुन, सहिद सम्झना, राष्ट्रिय धुन र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत बजाइएपछि उद्घाटन कार्यक्रम १२ मिनेटमै टुंगिने छ । उद्घाटनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्नेछन् । त्यस्तै, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्का अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन पेस गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
२१ गतेदेखि प्रतिवेदनमाथि १० समूहमा विभाजन गरी छलफल गरिनेछ । त्यसका लागि सभाहलको छतदेखि क्याटरिङ स्थलसम्म छुट्टाछुट्टै ठाउँमा समूह छलफल कक्ष बनाइएको छ । महाधिवेशनमा २ हजार ३ सय ४१ जना सहभागी हुनेछन् । स्वयंसेवक, सुरक्षा निकाय र अन्यलाई गरी करिब ३ हजार ५ सय जनाको भोजन व्यवस्थापन गरिएको छ ।
यसपटकको महाधिवेशनमा फरक मत प्रस्तुत हुने तयारी पनि भएको छ । विधान संशोधन र नेतृत्वशैलीसम्बन्धी एजेन्डामा असहमति प्रष्ट हुनसक्ने एमालेको स्रोतले जनाएको छ । पार्टीमा पछिल्लो समय अध्यक्ष ओली केन्द्रमा रहेर निर्णय गर्ने शैलीप्रति असन्तुष्टि बढिरहेको छ । केही समूहले विधान संशोधनमार्फत सामूहिक नेतृत्व र निर्णय प्रक्रियामा सन्तुलन ल्याउने प्रस्ताव राख्ने तयारी गरेको छ । महाधिवेशनसँगै पार्टीले पूर्वराष्ट्रपति विद्या भण्डारीको भूमिकाबारे पनि बहस गर्ने संकेत गरेको छ ।
भण्डारी हाल औपचारिक रूपमा सक्रिय नभए पनि पार्टीभित्र ‘महिला नेतृत्वको निरन्तरता’ र ओलीपछिको सम्भावित नेतृत्वसम्बन्धी छलफलमा उहाँको नाम घुम्ने गरेको छ । केही नेताहरूले उहाँलाई वरिष्ठ सल्लाहकार भूमिकामा सम्मानपूर्वक समेट्ने प्रस्ताव ल्याउन सक्ने संकेत गरेका छन् ।
तर, अर्कोतर्फ नयाँ पुस्ताका नेताहरू भने भण्डारीलाई प्रतीकात्मक भूमिकामा मात्र सीमित राख्ने पक्षमा देखिएका छन् । यसले महाधिवेशनमा नेतृत्व र भावी उत्तराधिकारीसम्बन्धी बहसलाई थप चर्काउने देखिएको छ ।
एमालेको दोस्रो विधान महाधिवेशन केवल संगठनात्मक कार्यक्रममात्र होइन, पार्टीको भित्री शक्ति सन्तुलन, डिजिटल प्रविधिसँगको मेलमिलाप र भविष्य नेतृत्वको संकेत दिने राजनीतिक परीक्षणस्थल बन्न लागेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा पनि एमालेको महिला नेतृत्वप्रतिको दृष्टिकोण र भविष्यको संगठनात्मक दिशाबारे स्पष्ट सन्देश दिनेछ ।











प्रतिक्रिया