वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन


काठमाडौं ।

तामाङ, लोक तथा आधुनिक गीतमार्फत सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको बुधबार बिहान निधन भएको छ।

क्यान्सर रोगबाट पीडित गुरुङको ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा बिहान २ बजे निधन भएको हो। पछिल्लो दुई सातादेखि उनी त्यहीँ उपचार र आराममा थिइन्।

गोलेले तामाङ गीतसंगीतको प्रवर्द्धनमा ठूलो योगदान दिएकी थिइन्। उनले करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्। उनका चर्चित गीतहरूमा चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा लगायत छन्।

पूर्व तामाङ कलाकार समाज अध्यक्षसमेत रहेकी गुरुङको बौद्ध संस्कारअनुसार अन्त्येष्टि गरिने तयारी गरिएको छ। उनका दुई छोरी छन् भने श्रीमानको पहिल्यै निधन भइसकेको छ।