काठमाडौँ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीलाई आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाई लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएका उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये सल्यान बागचौर नगरपालिका–९ का ३५ वर्षीय रमेशराज डाँगीले इटाली पठाइदिने बहानामा २ जना पीडितसँग उन्नाइस लाख पचासी हजार रुपैयाँ (१९,८५,०००) ठगी गरेको खुलेको छ । उनलाई भदौ १५ गते काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पठाइएको छ ।
त्यस्तै, दैलेख नौमुले गाउँपालिका–२ का २४ वर्षीय खगेन्द्र मल्लले यूएई पठाइदिने भन्दै २ जना पीडितसँग छ लाख पचास हजार रुपैयाँ (६,५०,०००) असुलेको पाइिएको छ । उनलाई भदौ १७ गते भक्तपुर सूर्यविनायक नगरपालिका–६ बाट पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइसकेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।











प्रतिक्रिया