काठमाडौँ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङमा रहेको एक घरबाट प्रहरीले ठूलो मात्रामा नगदसहित सुनका गहना बरामद गरेको छ ।
गोरखा घर भएका ७६ वर्षीय विनोद श्रेष्ठको घरमा मंगलबार बिहान छापा मार्दा करिब ४ करोड रुपैयाँ बराबरको नगद भेटिएको प्रहरीले जनाएको छ । सोही क्रममा तयारी अवस्थामा रहेका सुनका गहना पनि बरामद गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले पुष्टि गरेका छन् ।
उनका अनुसार नगदसहित ठूलो परिमाणमा गहना पनि बरामद भएको छ र अहिले त्यसको तौल तथा मूल्यांकन कार्य भइरहेको छ ।
उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बसपार्कबाट खटिएको संयुक्त टोलीले बरामद रकम गणना गर्न मेशिन समेत प्रयोग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
“नगद धेरै भएकाले मेशिन प्रयोग गरेर रकमको यकिन संख्या गणना भइरहेको छ,” एसएसपी अधिकारीले भने ।
सुनका गहनाको तौल पनि भइरहेको छ । बरामद सम्पत्तिको श्रोतबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको र गृहस्वामी विनोद श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया