काठमाडौं।
खोटाङको एउटा विद्यालयको कोठा बनाउने क्रममा २४ लाख रुपियाँ हिनामिना भएको पाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको चार कोठे भवन निर्माणका क्रममा सो अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार झुट्ठा प्राविधिक प्रतिवेदन तथा बिल भरपाई तयार गरी÷गराई केही व्यक्तिहरूलाई लाभ र राज्यलाई आर्थिक हानि पु¥याएको थियो । आर्थिक वर्ष २०७१-०७२ मा श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको चार कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय खोटाङले २४ लाख रुपियाँ अनुदान उपलब्ध गराएको थियो । विद्यालयले थप २५ प्रतिशत जनश्रमदान गरिने गरी कुल लागत ३० लाख रुपियाँ अनुमान तयार भएको थियो । उक्त निर्माणका लागि २०७१ साल माघ २२ गते विद्यालय र जिल्ला शिक्षा कार्यालयबीच औपचारिक सम्झौता पनि भएको थियो ।
सम्झौताको सर्तविपरीत भवन निर्माण गर्नुको साटो झुट्ठा प्रतिवेदनका आधारमा रकम निकासा गरिएको आयोगको अनुसन्धानले देखाएको छ । प्राविधिक स्थलगत निरीक्षण र मूल्यांकनअनुसार, फिल्डमा जम्मा २ लाख ७२ हजार ३ सय २८ रुपियाँ बराबरको मात्र कार्य सम्पन्न प्रवक्ता पौडेलले बताउनुभयो । ‘यस्तो अवस्थामा बाँकी रकम न त भौतिक प्रगतिसँग मेल खाने गरी खर्च भएको देखिएको छ, न त प्रचलित कानुनअनुसार सही शीर्षकमा खर्च गरिएको देखिन्छ’ –उहाँले भन्नुभयो । आयोगले विभिन्न समयका तीन जना जिल्ला शिक्षा अधिकारीसहित १३ जनाको मिलेमतोमा गरिएको जनाएको छ ।
आयोगका अनुसार सो कार्यमा तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालको संलग्न रहेको थियो । त्यसै गरी कार्यालयका तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ, तत्कालीन सब–इन्जिनियर शिवराज राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहाल, शेष कुमार पौड्याल, तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल, प्रधानाध्यापक नयनकुमार राई, तत्कालीन लेखापाल सीता कार्की र भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङको पनि संलग्नता रहेको थियो ।
सो कार्य सरकारी स्रोतको दुरुपयोग गरेको ठहर गर्दै उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसारको सजायको माग गरिएको आयोगले जनाएको छ ।











प्रतिक्रिया