सीसँगको भेटमा ओलीको बोल्ड अडानपछि भारतीय मिडियामा हल्लीखल्ली


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिवार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा लिपुलेकमा भएको सहमतिको सशक्त विरोध गरेपछि भारतीय मिडियामा यस विषयले हल्लीखल्ली मच्चिएको छ ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ को सन्दर्भमा भएको भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग लिपुलकको विषयलाई सशक्त रूपमा उठाउनुभएको थियो ।

भारत र चीनबीच गत अगस्ट १५ मा नेपाली भूमि लिपुलेक हुँदै गरिने व्यापार सम्झौताप्रति ओलीले आपत्ति जनाउनुभएको हो । नेपालले लिपुलेको मुद्दा उठाएसँगै भारतीय सञ्चारमाध्यममा खैलाबैला मच्चिएको हो ।

भारतीय सञ्चारमाध्यमहरूले ओलीको यो कदमलाई नेपालको ‘राष्ट्रवादी अडान’ का रूपमा पनि देखाएका छन् । तर, साथसाथै चीनको मौनतालाई पनि उनीहरूले विशेष स्थान दिँदै चीनले वास्ता नगरेको विषयलाई पनि उच्च प्राथमिकता दिएर उठाएका छन् । नेपालले लिपुलेकको विषयलाई विशेष जोडका साथ उठाए पनि चीनले यो मुद्दामा नेपालको पक्ष नलिएकोलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकता दिएका हुन् ।

भारतीय सञ्चारमाध्यमले यो मुद्दालाई नेपालको दाबी, चीनको मौनता र द्विपक्षीय सम्बन्धका पक्षहरूमा केन्द्रित रहेर सामग्री प्रकाशन गरेका छन् । भारतीय मिडियाहरूले बेइजिङस्थित नेपाली दूतावासको बयान, परराष्ट्र सचिव अमृतबहादुर राईको भनाइ र चीनको आधिकारिक ‘रिडआउट’लाई आधार बनाएर सामग्री प्रकाशन गरेका छन् ।

समग्रमा, भारतीय सञ्चारमाध्यमले यो भेटलाई नेपालको ‘कडा अडान’ का रूपमा चित्रण गरेका छन्, तर चीनको तर्फबाट लिपुलेक मुद्दामा कुनै प्रतिक्रिया नआएको भन्दै यसलाई ‘रणनीतिक मौनता’ का रूपमा व्याख्या गरेका छन् ।

ओलीले लिपुलेकलाई नेपालको ‘अभिन्न अंग’ बताउँदै १८१६ को सुगौली सन्धिको हवाला दिएको विषय अधिकांश सञ्चारमाध्यममा उल्लेख छ । त्यस्तै, गत अगस्ट १५ को सम्झौता नेपालको सहमतिबिना भएको र नेपालको सार्वभौमसत्तामाथि चुनौती भएको ओलीको भनाइलाई पनि समाचारमा समावेश गरेको छ । तर, उनीहरूले लिपुलेक भारतकै भएको भन्दै केही भ्रम पनि छरेका छन् ।

भारत २४ लाइभमा ओलीले ‘दो टुक’ भनेर लिपुलेक नेपालको भएको दाबी गरेको र चीनसँग सम्झौता पुनर्विचार गर्न अपिल गरेको उल्लेख छ । त्यस्तै, अग्निवाणीमा पनि ओलीले लिपुलेकलाई नेपालको अभिन्न हिस्सा बताउँदै भारत–चीन सम्झौतालाई ‘सम्प्रभुता के लिए चुनौती’ भनेको उल्लेख गरेको छ । यसै गरी नवभारत टाइम्स, न्युज १८, जागरण, पीटीआई, ईटीभी भारत, जी न्युज र दी ट्रिब्युनलगायतका सञ्चार माध्यमले यस विषयलाई विभिन्न कोणबाट उठाएका छन् । उनीहरूले नेपालले भारत र चीन सँगको सम्झौताको विषयमा चीनसँग कुरा काटेको समेत भन्न भ्याएका छन् ।

चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेट

‘नेपालसँगको सम्बन्ध चिरस्थायी र विशेष छ’

काठमाडौं

चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार अनौपचारिक भेटघाट भएको छ । एक कार्यक्रमको सिलसिलामा ओली र मोदीबीच भेटघाट र सामान्य कुराकानी भएको हो । भेटलगत्तै मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री ओलीसँगको तस्बिर हाल्दै लेख्नुभएको छ– ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ ।’

त्यसक्रममा मोदीले माल्दिभ्स, ताजिकिस्तान र बेलारुसका राष्ट्रपति, इजिप्टका प्रधानमन्त्रीलगायतसँग पनि केही भलाकुसारी गर्नुभएको थियो ।