१३८ किलो गाँजासहित ६ जना पक्राउ


हेटौंडा।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी बसामाडी लेवट मकवानपुरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले फरक घटनामा करिब १ सय ३८ किलो गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

हेटांैडा–३, बसामाडी चौकीअगाडि पूर्वपश्चिम सडकखण्डमा गाँजा बरामद गरिएको हो । नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बाप्र–०१–००२ ज ६५४९ नम्बर ईभी चेक गर्ने क्रममा विहान करिब सवा ४ बजे गाँजासहित पक्राउ गरिएको हो । चालक काभ्रे पाँचखाल नपा–८ बस्ने वर्ष २१ का सुदीप तामाङ, वर्ष २० का सबिन तामाङ र दोलखा सैलुङ गापा–८ बस्ने वर्ष २२ का सागर तामाङको साथबाट गाँजा बरामद गरिएको हो । उनीहरुलाई शंका लागेर गाडीसमेत खानतलासी गर्दा गाडीमा लुकाइल्याएको अवस्थामा गाँजा १ सय १२ किलो ७ सय ९० ग्राम फेला परेको थियो ।

उक्त गाँजा तथा सवारीसमेत बरामद गरी तामाङत्रयलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटांैडाबाट लागुऔषध कसुर मुद्धामा म्याद अनुमतिसहित थप अनुसन्धान भइरहेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी बसामाडी लेवट मकवानपुरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले हेटांैडा–३, बसामाडी चौकीअगाडि नै पूर्वपश्चिम सडकखण्डमा नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बसका यात्रीहरुलाई गाँजासहित पक्राउ गरेको छ ।

बाप्र–०६–००१ ज ०५०३ नम्बर यात्रुबाहक गाडीका यात्री मकवानपुरको राक्सिराङ गापा–१ बस्ने वर्ष ३० का प्रेमराज मोक्तान, वर्ष १९ का सन्दीप थिङ र वर्ष १९ कै बुद्धिलाल मोक्तानको साथबाट आइतबार विहान करिब ५ बजे गाँजा बरामद गरिएको हो ।

शंका लागेर खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र लुकाइल्याएको अवस्थामा गाँजा २६ किलो १० ग्राम फेला परेको प्रहरीले जनाएको छ । गाँजा बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटांैडाबाट लागुऔषध कसुर मुद्धामा म्याद अनुमतिसहित थप अनुसन्धान कार्य भइरहेको छ ।