चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको स्वाभिमानी अडान: ‘लिपुलेक नेपाली भूमि हो, भारतसँगको सहमति आपत्तिजनक छ’

सहमतिले नेपालको सार्वभौमिकता अतिक्रमण

4.61k
Shares

–नेपाल–चीन सम्बन्धमा नयाँ आयाम

–भेट नेपालकोभू –राजनीतिक सन्तुलन कायम राख्ने दृष्टिले ऐतिहासिक

काठमाडौं

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग लिपुलेक नेपाली भूभाग भएकाले लिपुलेकमा चीन र भारतबीच हालै भएको व्यापारिक मार्ग निर्माणको सहमति आपत्तिजनक रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग सो सहमति नेपालका लागि मान्य नभएको स्पष्ट अडान राख्नुभएको छ ।

प्रधानमन्त्री ओलीले तियानजिनस्थित चिनियाँ अतिथि गृहमा भएको द्विपक्षीय भेटका क्रममा राष्ट्रपति सीलाई सन् १८१६ मा भएको सुगौली सन्धीको महत्व स्मरण गराउँदै महाकालीपूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको भएको स्पष्ट पार्नुभएको छ । द्विपक्षीय भेटमा प्रधानमन्त्रीले चीन र भारतबीच लिपुलेक व्यापारिक मार्गमा गरिएको सहमतिका बारेमा स्पष्ट रूपमा असहमति र आपत्ति व्यक्त गर्नुभएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । ‘दुई छिमेकी मुलुकबीच भएको हालको सहमतिले नेपालको सार्वभौमिकतामा आँच पु¥याउने खतरा रहेको छ यसमा राष्ट्रपति ज्यूले गम्भीरतापूर्वक विचार गरिदिनुपर्छ ।’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सचिव राईले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सो भेटमा भन्नुभयो– ‘नेपाल सधैं शान्तिपूर्ण सहकार्य र क्षेत्रीय समृद्धिको पक्षमा रहँदै आएको छ । तर, हाम्रो भूभागलाई समेटेर गरिने कुनै पनि सहमति नेपालको स्वीकृतिबिना लागू हुनु भनेको हाम्रो सार्वभौमिकतामा प्रत्यक्ष चुनौती हो । चीनसँगको दीर्घकालीन मित्रता र सहयोगलाई मध्यनजर राख्दै, म यस विषयलाई गम्भीरतापूर्वक विचार गरिदिन आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले भारतसँगको पुरानो सहमति र त्यसको कार्यान्वयन प्रक्रिया, नेपाल–भारत–चीन त्रिपक्षीय सम्बन्धका विविध आयाम, र नेपालको भूमिगत तथा भू–सामरिक हितको दृष्टिले यस विषयमा स्पष्टता आवश्यक भएको विषयमा पनि जोड दिनुभएको सचिव राईले जानकारी दिनुभयो । उहाँका अनुसार ओलीले नेपाल–चीन सम्बन्धमा पारदर्शिता र भरोसा नै दीर्घकालीन साझेदारीको आधार भएको बताउँदै चीनले विगतदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिउत्तरमा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीको धारणा सुनिसकेपछि चीन सधैं नेपालको पक्षमा रहेको र नेपालको स्वीकृतिबिना कुनै फरक मत राख्नुपर्ने कारण नरहेको स्पष्ट पार्नुभएको थियो । राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्र सचिव राईले भन्नुभयो–‘लिपुलेकसम्बन्धी यो विषय नेपाल र भारतबीच समाधान गर्नुपर्ने हो । चीनले यस सहमति लागू गर्दा नेपाल–चीन सम्बन्धलाई प्रभावित पार्ने कुनै काम गर्दैन । हामी सधैं नेपालका पक्षमा छौं र पुराना सम्झौताहरूको कार्यान्वयनमा नेपालसँग सहकार्य गर्न तयार छांै ।’

भेटमा दुई पक्षबीच नेपाल–चीन सम्बन्धलाई अझ बलियो बनाउन र क्षेत्रीय स्थायित्व सुनिश्चित गर्न विविध उपायमा सहमति भएको छ । विशेषतः नेपालले चीनलाई स्मरण गराएको थियो कि कुनै पनि अन्तरदेशीय सहमति वा सम्झौता नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकता कायम राख्ने सिद्धान्तविपरीत हुनु हुँदैन ।
प्रधानमन्त्री ओलीले भेटमा चिनियाँ नेतृत्वलाई नेपाल–चीन सम्बन्ध सदैव ऐतिहासिक मित्रता र पारस्परिक सम्मानको आधारमा अघि बढ्दै आएको सम्झाउनभुयो । उहाँले चीनलाई धन्यवाद दिँदै नेपाल–चीन साझेदारीलाई भविष्यमा अझ सुदृढ बनाउने क्रममा लिपुलेकजस्ता संवेदनशील मुद्दामा चीनको सकारात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटमा पुराना सम्झौताहरूको कार्यान्वयन, सीमासम्बन्धी विवादको समाधान, व्यापारिक सहकार्य, ऊर्जा, पूर्वाधार विकास, र आपसी विश्वासको सुदृढीकरणजस्ता विषयहरूमा व्यापक छलफल भएको छ । राष्ट्रपति सीले यस भेटमा नेपाल–चीन सम्बन्धलाई दीर्घकालीन रणनीतिक साझेदारीका रूपमा अगाडि बढाउन चीनको प्रतिवद्धता दोहो¥याउनुभएको छ ।

यस भेटलाई कूटनीतिक विश्लेषकहरूले नेपालको भू–राजनीतिक सन्तुलन कायम राख्ने दृष्टिले ऐतिहासिक महत्वको रूपमा लिएका छन् । प्रधानमन्त्री ओलीले चीनसँगको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै, भारतसँगको संवेदनशील सहकार्य र लिपुलेकजस्ता भू–सुरक्षा मुद्दामा स्पष्टता ल्याउन अवसर पाउनु नेपालको रणनीतिक हितका लागि महत्वपूर्ण मानिएको छ ।

चीनले नेपालको हितमा स्पष्ट नीति अपनाउनु, र नेपालको स्वीकृति बिना कुनै सहमति लागू नहुने आश्वासन दिनु, नेपाल–चीन सम्बन्धमा विश्वासको पुनर्निर्माण र द्विपक्षीय साझेदारीलाई नयाँ उचाइमा पु¥याउने संकेत हो । यसले नेपाललाई क्षेत्रीय राजनीतिमा सन्तुलन कायम राख्ने अवसर पनि प्रदान गर्नेछ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल–चीन सम्बन्धमा मात्र होइन, नेपाल–भारत–चीन त्रिपक्षीय सन्दर्भमा पनि महत्वपूर्ण संकेत दिन्छ । यस भेटपश्चात् नेपालले आफ्नो भू–राजनीतिक हित, सीमा अखण्डता र व्यापारिक सहकार्यलाई समेटेर अगाडि बढ्न सक्ने वातावरण बनेको छ ।

प्रधानमन्त्री ओलीले भेटपश्चात् सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘चीनसँगको द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने र क्षेत्रीय शान्ति तथा समृद्धिमा योगदान पु¥याउने हाम्रो प्रतिबद्धता दृढ छ । राष्ट्रपति सीसँग भएको छलफलले हाम्रो साझेदारीलाई नयाँ आयाम दिएको छ ।’ यसरी, प्रधानमन्त्री ओली–राष्ट्रपति सीबीचको भेट नेपालको सार्वभौमिकता र भू–सुरक्षाको मुद्दालाई उच्च प्राथमिकतामा राख्दै, दुई देशबीच विश्वास र दीर्घकालीन साझेदारीलाई सुदृढ बनाउने महत्वपूर्ण चरणको रूपमा मूल्याङ्कन गरिएको छ ।


नेपाल सधैं शान्तिपूर्ण सहकार्य र क्षेत्रीय समृद्धिको पक्षमा रहँदै आएको छ । तर, हाम्रो भूभागलाई समेटेर गरिने कुनै पनि सहमति नेपालको स्वीकृति बिना लागू हुनु भनेको हाम्रो सार्वभौमिकतामा प्रत्यक्ष चुनौती हो । चीनसँगको दीर्घकालीन मित्रता र सहयोगलाई मध्यनजर राख्दै, म यस विषयलाई गम्भीरतापूर्वक विचार गरिदिन आग्रह गर्दछु ।

केपी शर्मा ओली प्रधानमन्त्री, नेपाल


चीनले यस सहमति लागू गर्दा नेपाल–चीन सम्बन्धलाई प्रभावित पार्ने कुनै काम गर्दैन । हामी सधैं नेपालका पक्षमा छौं र पुराना सम्झौताहरूको कार्यान्वयनमा नेपालसँग सहकार्य गर्न तयार छौं ।’
सि चिनफिङ, राष्ट्रपति, चीन