काठमाडौंमा आगामी शनिबारदेखि अहिंसा महोत्सव सुरु हुने


काठमाडौं ।

नेपाल शाकाहारी संघको आयोजनामा अहिंसा महोत्सव नेपाल आउँदो भदौ १२ देखि १४ गते (२०७९ साल) सम्म काठमाडौंको भृकुटीमण्डप, प्रदर्शनीमार्गमा आयोजना हुँदैछ। तीन दिनसम्म चल्ने यो महोत्सवमा शाकाहारी जीवनशैली, पशुप्रेम, वातावरण संरक्षण र मानव स्वास्थ्यका पक्षमा जनचेतना फैलाइने उद्देश्य रहेको छ।

करुणाको जोड भन्ने नारासहित आयोजना हुने महोत्सवमा निःशुल्क प्रवेश व्यवस्था गरिएको छ। महोत्सवमा देश विदेशका शाकाहारी परिकार, पाककला प्रदर्शनी, अनुभव आदानप्रदान, परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रम, प्रदर्शनी, निःशुल्क भोजन र बिभिन्न स्टल रहनेछन्।

१० हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवमा करिब ६० भन्दा बढी संघसंस्था, ४० भन्दा बढी व्यवसायिक स्टल र २० भन्दा बढी सहकार्य संस्था रहनेछन्।

कार्यक्रममा प्रमुख अतिथि एवं सामाजिक अभियन्ता तथा नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुंग रहेका छन्।