काठमाडौं ।
सरकारका एक बहालवाला सचिवले चार महिना सेवा अवधि रहँदारहँदै सचिव पदबाट राजीनामा दिएर निजामती सेवाबाट बाहिरिनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रहेका भरतमणि सुवेदीले सचिव पदबाट राजीनामा दिनुभएको हो । उहाँको सचिवको पाँच वर्षे कार्यकाल आगामी पुष महिनामा सकिँदै थियो ।
संघीय निजामती सेवा ऐन नआएमा हालका मुख्य सचिव एकनारायण अर्याल उमेर हदका कारण आगामी मंसिरमा सेवानिवृत्त हुनुहुनेछ । त्यसपछि मुख्य सचिवको प्रमुख दावेदारका रूपमा रहनुभएका सुवेदीले एकाएक राजीनामा दिनुलाई आश्चर्यका रूपमा हेरिएको छ । सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीको राजीनामा स्वीकृत गरिसकेको छ ।
सुवेदीका समकालीन मित्रहरूका अनुसार उहाँ केही समयदेखि निजामती सेवा, राजनीतिक हस्तक्षेप र यहाँको प्रवृत्तिदेखि निराश रहँदै आउनुभएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवको भूमिका निर्वाह गरिसक्नुभएका सुवेदीले निर्वाचन आयोगमा समेत सचिव रहेर काम गरिसक्नुभएको छ ।
स्रोतका अनुसार सरकारले पछिल्ला दिनमा आफूलाई अपमानित हुने गरी सरुवा गरेकाले त्यसको असन्तुष्टिस्वरूप उहाँले राजीनामा दिनुभएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहँदा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवामा पैसा खाने गरेको थाहा पाएपछि सचिव सुृवेदीले सो विकृति रोक्न पहल गर्नुभएको थियो । विकृति रोक्न पहल गर्दा उहाँलाई मन्त्री गुप्ताले उल्टै मन्त्रालयबाट हटाउनुभएको थियो । सुवेदी त्यसपछि निराश रहँदै आएको बताइन्छ ।
मन्त्रालयमा राम्रो काम गर्न खोज्दा खोज्दै पुरस्कृत गर्नुको साटो सरकारले आफूलाई हटाएर अन्याय गरेको र विकृति रोक्न खोज्दा दण्डित हुनुपरेको गुनासो सुवेदीले निकटस्थहरूसँग गर्दै आउनुभएको थियो । तत्कालीन सामान्य प्रशासन मन्त्री गुप्ताको भ्रष्ट कार्यशैलीको उहाँले प्रतिरोध गर्दा मन्त्रालयबाट हटाइएर उहाँ निर्वाचन आयोग पुग्नुभएको थियो । त्यसपछि पनि उहाँले सुधारको लागि कुनै मन्त्रालयमा गएर काम गर्न रुचि राखे पनि उहाँलाई उल्टै वित्त आयोगमा पठाइएको थियो । त्यसपछि सुवेदी राजीनामा दिने निष्कर्षमा पुग्नुभएको थियो ।











प्रतिक्रिया