–३६ जनामा हैैजाको संक्रमण पुष्टि
–२०० बढी बिरामी उपचाररत
वीरगञ्ज ।
वीरगञ्ज महानगरमा हैजा (कोलेरा) को महामारी समुदायस्तरमै फैलिएपछि यहाँका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । शुक्रवारबाट समुदाय स्तरमा नै हैजा फैलिएको पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको भए पनि आइतबार पनि बिरामीहरू उपचारका लागि अस्पतालहरूमा आएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।
वीरगञ्ज महानगरको वडा नम्बर ३, ११, १२, १३ र ३० मा गरी ३६ जनामा हैैजाको संक्रमण पुष्टि भइसकेको हो । सबैभन्दा बढी वीरगञ्जको नारायणी अस्पतालमा १३, तराई हस्पिटलमा १२, नेसनल मेडिकल कलेजमा ५, अलि अर्थो सेन्टरमा ४ र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत रहेको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरले जानकारी दिनुभएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल २०० भन्दा बढी बिरामी उपचाररत छन् । झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरू थपिने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
नारायणी अस्पतालामा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शय्याको अभावमा बिरामीलाई बरण्डाको भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार, वीरगञ्जमै हैजाका शंकास्पद दुई जना बिरामीको मृत्यु पनि भइसकेको छ । शुक्रवार नारायणी अस्पतालमा ३५ वर्षीय एक पुरुष र वीरगञ्ज हेल्थकेयर हस्पिटलमा १९ वर्षीय एक युवतीको मृत्यु भएको हो ।
डा. सिंहका अनुसार झाडापखालाबाट सिकिस्त भएपछि ती दुवै बिरामीलाई अस्पताल ल्याइएको थियो । तर, अस्पतालमा ल्याइपु¥याउँदा दुवैको मृत्यु भइसकेको थियो । उनीहरूको मृत्यु झाडापखाला वा हैजाका कुन कारणले हो भनेर पुष्टि हुन बाँकी छ ।
हैजाको रोकथाम र नियन्त्रणमा तीनै तहका सरकार जुटेका छन् । वीरगञ्ज महानगरपालिका, स्वास्थ्य कार्यालय पर्सा, मधेस प्रदेस सरकार र संघीय सरकारको खानेपानी मन्त्रालय आ–आफनो तहबाट लागेका छन् । खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगञ्जमा खानेपानी परीक्षणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौंबाट एक टोली वीरगञ्जमा खटिएको छ ।
आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली नै खटिएको र टोलीले वीरगञ्जमा पुगेर पानी परीक्षणको काम शुरू गरिसकेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा वीरगञ्जमा हैजाको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयबाट पनि डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरसहितको टोली वीरगञ्जमा आइपुगेको छ ।
वीरगञ्जमा हैजाको संक्रमण देखिनु र फैलिनुको कारण भने अहिलेसम्म यकिन भइनसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए पनि दूषित पानी वा खानाको माध्यमले मानिसमा भिब्रियो कोलरी नाम जीवाणु प्रवेश गरेपछि हैजा रोग्ने लाग्ने गर्छ । तर, वीरगञ्जमा कुन कारणले हैजाको महामारी फैलिएको भन्नेबारेमा अहिलेसम्म यकिन भइनसकेको उहाँले बताउनुभयो ।
चिकित्सकसहितको मेडिकल टोली परिचालन
केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकभरको शान्ति–सुरक्षाको अवस्थाबारे समीक्षा गर्दै पर्सा, वीरगञ्जमा देखिएको हैजा प्रकोप नियन्त्रणका लागि तत्कालीन तयारीका उपायहरू अपनाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । वीरगञ्ज क्षेत्रमा फैलिएको हैजा प्रकोपलाई नियन्त्रणमा लिन तत्काल आवश्यकता परेमा चिकित्सकसहितको मेडिकल टोली परिचालन गर्ने निर्णय गरिएको छ ।
बैठकपछि जानकारी दिँदै गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले हाल मुलुकभर विभिन्न माग राखी भइरहेका धर्ना, जुलुस, आन्दोलन तथा अवाञ्छित गतिविधिलाई ध्यानमा राखेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा गहन छलफल भएको बताउनुभयो । उहाँका अनुसार बैठकले शान्ति–सुरक्षा सुदृढीकरणका उपायहरूलाई प्राथमिकतामा राखेको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्री लेखकले निर्देशन दिनुभएको थियो । प्रवक्ता काफ्लेले भन्नुभयो– ‘सोहीअनुसार तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा छन् ।’
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, नेपाली सेनाका, नेपाल प्रहरीका र सशस्त्र प्रहरी बलका प्रमुख तथा सम्बन्धित उच्च अधिकारीहरू सहभागी थिए । बैठकले देशभर देखिन सक्ने आकस्मिक अवस्था, सम्भावित चुनौती र त्यसका लागि सुरक्षात्मक तयारीबारे पनि विस्तृत छलफल गरेको जनाइएको छ ।











प्रतिक्रिया