–सीआईबीले थाल्यो अनुसन्धान
–रास्वपामा राजनीतिक भुइँचालो
काठमाडौं ।
उपसभामुख इन्दिरा राना संलग्न गैरसरकारी संस्था प्रिजनर्स असिस्टेन्ट (पीए) नेपालमार्फत बालबालिकाको अवैध ओसारपसार भएको आरोप सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई औपचारिक निर्देशन दिँदै ‘मानव बेचबिखन र संगठित अपराध’मा अनुसन्धान अघि बढाएको हो । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार यो सार्वजनिक सरोकारको गम्भीर विषय भएकाले सीआईबीलाई अनुसन्धान गर्न आग्रह गरिएको हो ।
२०७२ कात्तिक १७ गते सिफलस्थित बाल संगठनको बालगृहबाट पाँच बालबालिका हराएका थिए । पछि सो बालगृहका एक कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा, पीए नेपालसँग सम्बन्धित व्यक्तिहरूले जबरजस्ती बालबालिका लगेका थिए भन्ने तथ्य खुलेको थियो । त्यस बेला कार्यकारी निर्देशकको हैसियतमा राना नै संस्थाको नेतृत्वमा हुनुहुन्थ्यो ।
यस घटनालाई लिएर तत्कालीन सरकारले उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा छानबिन आयोग गठन गरेको थियो । आयोगले पीए नेपाल र रानाको संलग्नता देखाउँदै प्रतिवेदन पेस गरेको भए पनि त्यो प्रतिवेदन सार्वजनिक भएको थिएन । यही विषयलाई एमाले सांसद योगेश भट्टराईले संसद्मा कुरा उठाउँदै, प्रतिवेदन सार्वजनिक गर्न ढिला गर्न नहुने बताउनुभएको थियो ।
सीआईबीले प्रत्यक्षदर्शीको बयान र अन्य स्रोत संकलन गरिरहेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरो पनि समानान्तर रूपमा संलग्न छ । प्रहरी स्रोतका अनुसार घटनामा केवल रानामात्र नभई संगठित समूह सक्रिय रहेको प्रारम्भिक संकेत मिलेको छ ।
इन्दिरा राना प्रतिनिधिसभा उपसभामुखमात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । यस आरोपपछि रास्वपाभित्र ठूलो नैतिक र राजनीतिक संकट उत्पन्न भएको छ । पार्टीभित्रका केही नेताहरूले यसलाई व्यक्तिगत मुद्दा भनेर प्रतिरक्षा गरिरहेका छन् भने विपक्षी समूहले रास्वपाको नैतिक पहिचानमै प्रश्न उठ्ने भन्दै रानालाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।
यदि, रानामाथि मुद्दा पुष्टि भयो भने संसद्को उपसभामुख पद रिक्त हुनसक्छ र रास्वपाको शक्ति समीकरणमै ठूलो असर पर्न सक्छ । पार्टी नेतृत्वले चाँडै निर्णय नगरेमा यो मुद्दा प्रतिपक्ष दलहरूले ठूलो राजनीतिक हतियारका रूपमा प्रयोग गर्ने निश्चित देखिन्छ ।
मानव बेचबिखन जस्तो गम्भीर अपराधसँग जोडिएको यो प्रकरणले केवल एक जना उपसभामुखको भविष्यमात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक विश्वसनीयता र जनमतमा रहेको वैकल्पिक छवि नै संकटमा पार्ने खतरा बढाएको छ ।











प्रतिक्रिया