भारतले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने


काठमाडौँ ।

भारत सरकारले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको छ । यसअन्तर्गत ४८.५ मेगावाट क्षमताको मेवा खोला र ३१.०४ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली निर्यात हुने भएको छ ।

यसअघि १०१०.९ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको नेपालले अहिले थप ८० मेगावाटसहित भारततर्फ १०९०.९ मेगावाट निर्यात गर्नेछ । साथै बंगलादेशतर्फ निर्यात भइरहेको ४० मेगावाटसहित कुल निर्यात क्षमता ११३०.९ मेगावाट पुगेको छ ।

नेपाल र भारतबीचको सम्झौता अनुसार आगामी ३१ अक्टोबर २०२६ सम्म मध्यम अवधिका लागि विद्युत् निर्यात गर्न पाइनेछ । गत आर्थिक वर्षमा नेपालले करिब १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो भने नयाँ स्वीकृतिसँगै चालु आर्थिक वर्षमा निर्यात दोब्बर हुने प्राधिकरणले जनाएको छ ।