सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद, एक जना पक्राउ


काठमाडौँ ।

काठमाडौँको सुनधारास्थित सिभिल मलको द टोय स्टोरबाट ६ थान अटोमेटिक जस्तो देखिने नक्कली पेस्तोल बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सन्तोषी श्रेष्ठद्वारा सञ्चालित सो टोलमा बिक्रीका लागि राखिएका हतियार प्रहरीले बरामद गरेको हो।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले सो हतियार आयात तथा बिक्री गर्ने काभ्रेको रोशी घर भएका ३१ वर्षीय सुरज मगरलाई पक्राउ गरेको छ। उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी अपिल बोहराले जानकारी दिए।

प्रहरीका अनुसार आरोपीले नक्कली हतियार प्रति थान ५०१ रुपैयाँमा आयात गरी १४ हजारदेखि १९ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए। तौल र बनावटले प्रहरी प्रयोग गर्ने पेस्तोलजस्तै देखिने यस्ता हतियार सार्वजनिक सुरक्षामा खतराको कारण बन्न सक्ने अधिकारीहरूले बताएका छन्।