नेपाल प्रहरीमा नयाँ अध्यायको सुरुवात


काठमाडौं ।

स्थापना भएको आठ दशकपछि नेपाल प्रहरीले पहिलोपटक औपचारिक रूपमा महिला प्रहरी सम्मेलन आयोजना गरेको छ । उक्त ऐतिहासिक सम्मेलनले विगतदेखि वर्तमानसम्म संस्थामा योगदान पु¥याएका महिला प्रहरी अधिकृतलाई सम्मान गर्दै भविष्यमा संगठनभित्र महिलाको भूमिका अझ सबल बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

२००८ सालमा शुरू भएको यात्रा, अझै पनि चुनौती

नेपाल प्रहरीमा महिलाको प्रवेश २००८ सालमा चैतमाया डंगोलमार्फत भएको थियो । उहाँले प्रहरी सेवामा कदम राखेपछि विगत ७४ वर्षमा जम्मा २१ हजार ४ सय ४६ जना महिलाले सेवा गरिसकेका छन् । हाल नेपाल प्रहरीको कुल दरबन्दीमा महिला प्रहरीको संख्या १२ दशमलव ४१ प्रतिशत रहेको छ ।

तर, लामो इतिहास हुँदाहुँदै पनि उच्च तहमा पुग्ने महिला अधिकारीको संख्या अझै पनि नगण्य छ । अवसर र संरचनागत सीमितताका कारण महिलाले आफ्नो क्षमताअनुसार अवसर नपाएको भन्ने आवाज पनि उठ्दै आएको छ । कार्यक्रममा पहिलो महिला प्रहरी डंगोल स्वयम् उपस्थित रहनु सम्मेलनको विशेष आकर्षण बन्यो । उहाँको उपस्थिति प्रहरी सेवामा महिलाको यात्रा र संघर्षको सजीव प्रतीकका रूपमा प्रस्तुत भयो ।

सम्मेलनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्नुभएको थियो । उहाँले महिला प्रहरीको योगदानलाई ऐतिहासिक भन्दै आगामी दिनमा संगठनमा महिलाको सहभागिता २० प्रतिशत पु¥याउने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल प्रहरीलाई लैंगिक समानताको दृष्टिकोणबाट अझ सन्तुलित बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।

सम्मेलनमा सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधान, महान्यायाधिवक्ता रमेश बडाल, महिला आयोगकी अध्यक्ष कमला पराजुली, र प्रहरी महानिरीक्षक दीपक थापालगायतले महिला प्रहरी सशक्तीकरणका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । उनीहरूले प्रहरी सेवामा महिला अधिकृतहरूको बढ्दो उपस्थितिले संस्थागत सोच परिवर्तन गर्ने विश्वास व्यक्त गरेका थिए । आईजीपी थापाले भन्नुभयो– ‘महिला प्रहरीको उपस्थितिले हाम्रो संगठनलाई अझ सक्षम, संवेदनशील र जवाफदेही बनाउन सहयोग पु¥याउँछ । यो सम्मेलन नयाँ अवधारणाको विकास गर्ने मञ्च हुनेछ ।’

‘साझा जिम्मेवारी, समान प्रतिवद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने नारासहित शुरू भएको सम्मेलनमा देशभरबाट २ सयभन्दा बढी महिला प्रतिनिधि सहभागी भएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा महिला प्रहरीको वर्तमान अवस्था, अवसर, सीमाना र भविष्यको रोडम्यापबारे विस्तृत छलफल हुनेछ । सम्मेलनले जारी गर्ने घोषणापत्रले संगठनमा महिलाको अधिकार, समान अवसर र पेशागत उन्नतिलाई सुनिश्चित गर्ने दिशामा थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रहरीभित्र लैंगिक समानताको मुद्दा लामो समयदेखि उठ्दै आएको छ । महिलाले सामान्यतया प्रशासनिक र सहायक भूमिकामा सीमित हुनुपर्ने अवस्था अझै विद्यमान छ । यद्यपि, पछिल्लो दशकमा अनुसन्धान, तालिम, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धानजस्ता संवेदनशील क्षेत्रमा महिलाको सक्रियता देखिन थालेको छ ।

विश्लेषकहरूका अनुसार यो सम्मेलन केवल एक औपचारिकता नभई संस्थागत सुधारको सुरुवात हो । घोषणापत्रले ल्याउने नयाँ कार्यक्रम, तालिम र संरचनागत व्यवस्था कार्यान्वयन भएमा आगामी दशकमा नेपाल प्रहरीभित्र महिला नेतृत्वको उपस्थिति उल्लेख्य हुने अपेक्षा गरिएको छ ।

नेपाल प्रहरीले पहिलोपटक आयोजना गरेको महिला सम्मेलनले प्रहरी सेवाभित्र महिलाको योगदानलाई औपचारिक मान्यता दिएको छ । पहिलो महिला प्रहरी चैतमाया डंगोलदेखि हालसम्मको यात्रा झल्काउने यो सम्मेलन ऐतिहासिक मात्र नभई भावी पुस्ताका लागि प्रेरणादायी अध्याय बन्न सक्ने देखिन्छ ।