नयाँ रणनीति बनाउँदै पूर्वराजा ज्ञानेन्द्र

राजावादी आन्दोलन विफल भएपछि निराश

6.49k
Shares

– झापाबाटै भुटान जाने तयारी
–अमेरिका पुगे हृदयेन्द्र

काठमाडौं ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत १५ बाट आयोगना गरेको आन्दोलन विफल भएपछि पूर्वराजा ज्ञानेन्द्र अबको योजना तय गर्न झापा जाने हुनुभएको छ । राजावादी आन्दोलनमा सहभागी भएका राप्रपा, राप्रपा नेपाललगायत दलले सडक आन्दोलनबाट हिन्दु राज्य र राजतन्त्र ल्याउन नसक्ने आँकलन गरेपछि पूर्वराजा ज्ञानेन्द्र निराश हुनुभएको छ ।

विगत आन्दोलनको समीक्षा र अबको राजनीतिलगायतका विषयमा अध्ययन गर्न पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवार झापा जान लागेको हो । उच्चस्रोतका अनुसार ९ गते झापा जाने कार्यक्रम तय भएको छ । शुरूमा केही कर्मचारीसहित एक्लै र केही दिनपछि परिवारसमेत झापा पुग्नेछ ।

करिब दुई साता झापा बसाइका क्रममा उहाँ भुटान भ्रमणमा जाने तयारी भइरहेको स्रोतको भनाइ छ । भुटानका राजा र राजपरिवारका सदस्यसँग भेट गर्ने र केही औपचारिक कार्यक्रममा सहभागी हुन जाने तयारी गर्नुभएको हो ।

‘निर्मल निवासले पूर्वराजाको यो भ्रमणलाई गोप्य राखेको छ । सोमबार झापा जाने पक्कापक्की भएको छ । भुटानको विषयमा तयारी थालिएको छ’ –स्रोतको भनाइ थियो । झापा जानु एक दिनअघि पूर्वराजा ज्ञानेन्द्रको सवारी र सुरक्षासहितको कन्भे टोली आइतबार झापा जाने भएको छ ।

राप्रपा र राप्रपा नेपाल र राजावादीसंघ संगठनले हिन्दु राज्य र राजतन्त्र ल्याउन जनआन्दोलन शुरू गर्नुअघि पूर्वराजा ज्ञानेन्द्र झापा पुग्नुभएको थियो । आन्दोलन विफल भएको केही दिनपछि उहाँ राजधानी फर्कनुभएको थियो । आन्दोलनका क्रममा संयोजक नवराज सुवेदीलाई नजरबन्द, कमान्डर दुर्गा प्रसाईं, धवलशमशेर जबरा र रविन्द्र मिश्रलगायत दर्जनौंलाई पक्राउ गरी मुद्दा चलाएपछि सो आन्दोलन सकिएको थियो ।

पछि राप्रपा र राप्रपा नेपालले गरेको आन्दोलन सफल हुन सकेन । आन्दोलन विफल भएपछि पूर्वराजा ज्ञानेन्द्रले नयाँ रणनीति बनाउन खोज्नुभएको छ । आन्दोलनमा सक्रिय सहभागिता जनाएका प्रसाईंले आफूले अब पूर्वराजा ज्ञानेन्द्रको समर्थन नगर्ने घोषणा गरिसक्नुभएको छ । ज्ञानेन्द्रलाई अब आन्दोलन भइहाले कसलाई कमान्डर बनाउने भन्ने चिन्ता थपिएको छ ।

समितिले गणतन्त्र दिवसको दिन अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो । आन्दोलन अघि पूर्वराजा ज्ञानेन्द्रले आन्दोलनको नेतृत्व गरिरहेका समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र केशरबहादुर विष्टसँग लन्च मिटिङ गरेर निर्देशन दिनुभएको थियो ।

‘दुई महिनापछि फेरि झापा भ्रमण शुरू गरेपछि पूर्वराजाले कस्तो योजना बनाउनुहुन्छ भन्ने विषय उठेको छ । झापा भ्रमणका क्रममा उहाँले कोशी प्रदेशका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । अहिले सबै कार्यक्रम गोप्य राखिएको छ, झापा पुगेपछि मात्र थप जानकारी होला’ –स्रोतको भनाइ छ । यसअघि हृदयेन्द्रलाई राजगद्दीमा राख्ने सपना बोकेका राजावादी दलले आन्दोलन चर्काउन नसकेपछि पूर्वराजा ज्ञानेन्द्र चिन्तामा हुनुहुन्छ ।

अमेरिकामा अध्ययनरत नाति हृदयेन्द्र शाह केही दिन पोखरा, जुम्ला भ्रमण र केही सार्वजनिक कार्यक्रममा सहभागी भएको देखेर राजावादीले अब राजा ल्याउने भन्दै आन्दोलन गरेका थिए । केही महिना नेपाल बसाइपछि नाति शाह एक साताअघि अमेरिका पुगिसक्नुभएको छ ।