गृहमन्त्री लेखकको निर्देशन : सिपाही–हवलदारलाई तल्लो दर्जा नभन्नू


काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले सिपाहीदेखि हवलदारसम्मका प्रहरी कर्मचारीलाई ‘तल्लो दर्जा’ नभन्न निर्देशन दिएका छन्। नक्सालमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ मा बोल्दै उनले उक्त दर्जालाई ‘आधारभूत दर्जा’ भनेर सम्बोधन गर्नुपर्ने बताए।

उनले प्रहरी कर्मचारीहरू १४ घण्टा उभिएर काम गर्ने हुँदा उनीहरूको भूमिका सम्मानजनक रहेको उल्लेख गरे। छलफलमा रहेको प्रहरी विधेयकमा १६ वर्ष सेवा गरेपछि पेन्सन दिने प्रस्ताव समेटिने पनि जानकारी दिए।

महिला प्रहरी सम्मेलनलाई ऐतिहासिक बताउँदै उनले प्रहरीमा महिला सहभागिता १२ प्रतिशत पुगेको र यसले समावेशी राज्य निर्माणमा सहयोग पुर्‍याएको बताए। महिला सशक्तीकरणमा ध्यान दिनुपर्ने उनको जोड थियो।