आइप्यानको अध्यक्षमा केसी


 काठमाडौं ।

 विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा उच्च शिक्षा प्रदान गरिरहेका शिक्षणहरूको छाता संस्था अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । राजधानीमा आयोजित वार्षिक साधारण सभा तथा अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

कार्यसमितिमा निवर्तमान अध्यक्षमा समीर थापा, वरिष्ठ उपाध्यक्षमा तेज ढकाल, उपाध्यक्षद्धयमा विज्ञान श्रेष्ठ र रेष्टा झा , महासचिवमा शैलजा अधिकारी,  सचिवमा महेन्द्र कँडेल र कोषाध्यक्षमा योगेश उप्रेती यक्ष निर्वाचित भएका छन् । 

नयाँ कार्यसमितिको सदस्यहरूमा भेषराज पोखरेल, प्रवीणा थापा, लक्ष्मण पोखरेल, प्रमोद बानियाँ र आशिष ठाकुर निर्वाचित भएका छन् । कार्य समितिले पंकज जालानको अध्यक्षतामा सल्लाहकार समिति गठन गरेको छ । समितिमा नरोत्तम अर्याल, डा. मिथिलेश झा, रीतल राणा र अर्नराज सिलवाल सदस्य रहेका छन् । आइप्यान अन्तर्गत ५७ कलेज सञ्चालित छन् ।  ती कलेजहरूमा करिब  ३४ हजार ४ सय ५८ विद्यार्थी अध्ययन गरिरहेका नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए । 

साधारण सभामा आफ्ना धारणा राख्दै अध्यक्ष केसीले आइप्यानलाई अझ व्यवस्थित र पेशागत बनाउन ध्यान दिने भन्दै नेपालको गुणस्तरीय शिक्षा प्रवर्द्धनमा आइप्यानको भूमिका बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले वैदेशिक शिक्षामा देखिएको विसङ्गति र विकृतिलाई सुधार गर्नुपर्ने बताए । 

नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरी विदेशी विद्यार्थीलाई आकर्षित गर्ने  दिशामा हाम्रो पहल भएमा सरकारको योजनामा हातेमालो गरेर अघि बढ्न तत्पर रहेको बताए ।