आउँदै जाँदै गर्न आग्रह गर्ने प्रेमविनोद आफै बिदा भए

1.69k
Shares

काठमाडौं ।

यो गाउँको ठिटो म कान्छा मेरो नाम
आउँदै जाँदै गर्नु है सबलाई राम राम

फिल्म मोहनीमा समावेश यो लोकप्रिय गीतका रचनाकार प्रेमविनोद नन्दन अरूलाई आउँदै जाँदै गर्नु है भने पनि आफूचाहिँ अब कहिल्यै नफर्कने गरी यो धर्तीबाट बिदा हुनुभएको छ ।

साहित्यकार, गीतकार, गजलकार, गायक, संगीतकार तथा कलाकारका रूपमा बहुआयामिक परिचय निर्माण गर्नुभएका प्रेमविनोदले ९० वर्षको उमेरमा आइतबार राती १ बजे अन्तिम सास फेर्नुभयोे । लामो समयदेखि अस्वस्थ रहनुभएको नन्दनको चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

१९९२ साल जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिनुभएका उहाँ बसाइँ सरेर चितवनको नारायणगढमा बस्न थाल्नुभएको थियो । २०११ सालमा झटारो गीतिसंग्रहमार्फत नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले त्यसपछि कहिल्यै पछाडि फर्किएर हेर्नु परेन ।

कर्जा, मोहनी, सन्तानजस्ता फिल्मका लागि फूल हाँसिराख्छ सधैं, गर्भको पीडा जन्मको मर्म, यो दुनियाँ हो, ज्यानको माया नैना रेशमजस्ता कालजयी गीत लेख्दै आउनुभएको थियो ।

चर्चामा आउनका लागिभन्दा पनि आत्मसन्तुष्टिका लागि लेख्ने गरेको बताउने नन्दनको गीतिसंग्रह अञ्जली, सपनीबाट ब्युँझेर, विपनीका पाइलाहरू, ऐनाभित्रको आकाश, सिद्धार्थको ग्रहत्याग लघुकाव्य र पत्रम पुष्पम कवितासंग्रह प्रकाशित भएका छन् । उहाँले बागिश्वरी, दोभान, मारुनी, गोधूलिलगायत साहित्यिक पत्रिकाको लामो समयसम्म सम्पादन गर्नुभएको थियो ।

आउँदा जाँदा एक नजर फालेर जाने गर
अँधेरो छ यो सहर दियो बालेर जाने गर,
किन सोध्छाँै मेरो उमेर सत्तरी कि सत्र
सक्छौ भने लेखे हुन्छ अझै प्रेमपत्र

यस्ता मोहनीमय पंक्ति कोरेर सबैको मन जित्दै आउनुभएका नन्दन गजलमा पनि उत्तिकै प्रखर हुनुहुन्थ्यो । चितवनस्थित सिनर्जी एफएमको कार्यक्रम गजलमा दोहोरीमार्फत घरघरमा गुञ्जिने उहाँको कारण चितवनमा गजल वाचन र लेखनको क्रेज बढेको थियो ।

चितवनको सबैभन्दा पुरानो साहित्यिक संस्था नारायणी कला मन्दिरका पूर्वअध्यक्ष र सल्लाहकार रहनुभएको प्रेमविनोद नन्दनको रचना हालको राष्ट्रिय गान छनोटमा उत्कृष्ट १० भित्र परेको थियो । उहाँ छिन्नलता गीत पुरस्कार, चिसाप प्रतिभा पुरस्कार, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार, नारायणी प्रज्ञा पुरस्कारजस्ता पुरस्कार र विभिन्न सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।

जीवनको अन्तिम अवस्थामा पनि कला साहित्य एवम् गीत गजल लेखनमार्फत नेपाली कला क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन अतुलनीय भूमिका खेल्नु हुने प्रेमविनोद नन्दनको पार्थिव शरीरलाई सोमबार बिहान अन्तिम श्रद्धाञ्जलीका नारायणी कला मन्दिरमा राखिएको थियो ।

प्रेमविनोद नन्दनको अन्तिम बिदाइमा उहाँकी छोरी वेगम श्रेष्ठले उहाँकै चर्चित गीत यो गाउँको ठिटो म गाउनुभएको थियो । उहाँको पार्थिव शरीरको सोमबार नै धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरियो । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।