काठमाडौं।
आफ्नै पत्नीको हत्या गरी फरार रहेका सन्तोष सेन्चुरीलाई प्रहरीले आइतबार पर्साबाट पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत शुक्रवार राति ११ बजे गोंगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एन्ड लजको कोठा नं २०१ मा ललिता बिकको शव फेला परेको थियो । मृतक ललिता बूढानीलकण्ठ नगरपालिका–२, भंगालमा बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार ललिताका पति सन्तोष सेन्चुरीले सम्बन्ध विच्छेदको अन्तिम छलफल गर्ने बहानामा ललितालाई होटलमा बोलाएका थिए । कोठामा दुई–तीन घण्टा बसेपछि उनले घाँटी थिची हत्या गरी शवलाई पलङभित्र लुकाएर फरार भएका थिए ।
घटनास्थलबाट तीन दिनपछि मात्रै शव फेला परेको थियो । होटल सञ्चालक भीममाया लिंखाले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरी पुगेपछि शव पलङभित्र कपडा कोचिएको अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिनुभयो ।
यसअघि मृतककी दाजु मोतीराम विश्वकर्माले साउन २८ गते नै बहिनी हराएको भन्दै प्रहरी वृत्त महाराजगञ्जमा खोजतलासको लागि निवेदन दिनुभएको थियो । सोही दिन प्रहरी वृत्त महाराजगञ्जले सन्तोषलाई बोलाएर सोधपुछसमेत गरेको थियो । घटनाको वास्तविकता तीन दिनपछि मात्रै खुलेको थियो ।
प्रहरीका अनुसार सन्तोष र ललिताबीच दुई वर्षअघि विवाह भएको थियो । तर, विवाहअघि नै सन्तोषको अर्की महिलासँग प्रेम सम्बन्ध रहेको पाइएको छ । विवाहपछि उनले ललितालाई मानसिक र शारीरिक यातना दिने गरेका कारण सम्बन्ध तनावपूर्ण बनेको थियो । यही कारण दुवैबीच अलग बस्ने निर्णय भइसकेको थियो ।
यही क्रममा साउन २७ गते अन्तिम छलफल गर्ने भन्दै सन्तोषले ललितालाई होटलमा बोलाएका थिए । त्यसपछि उनले हत्या गरी शव लुकाएर सोही दिन दिउँसो करिब ४ बजे होटलबाट बाहिरिएको खुलेको छ ।
सन्तोष साउन २९ गतेसम्म प्रहरी सम्पर्कमै रहे पनि दिउँसोदेखि मोबाइल स्विच अफ गरी हराएका थिए । अनुसन्धानमा उनी भारततर्फ भाग्ने तयारीमा पर्सा पुगेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा आइतबार बिहान वीरगञ्जस्थित एक होटलबाट उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया