काठमाडौं।
इजरायलमा गाजा युद्धको अन्त्य र हमासद्वारा अपहरणमा परेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार देशव्यापी हड्ताल र प्रदर्शन भएको छ । हजारौं नागरिकले सडकमा उत्रिएर युद्ध रोक्न र बन्धकहरूलाई घर फर्काउन सरकारलाई दबाब दिएका छन् ।
तेल अभिभ र जेरुसेलमसहित प्रमुख सहरमा गरिएको प्रदर्शनमा सहभागीहरूले इजरायली झण्डा, हमासको कब्जामा रहेका बन्धकहरूको तस्बिर र विरोधका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेको थिए । व्यापक हडतालका कारण सार्वजनिक यातायात र व्यावसायिक गतिविधि प्रभावित भएको थियो । प्रहरीले भीड नियन्त्रणका लागि पानीको फोहोरा प्रयोग गर्नुका साथै कम्तीमा ३८ जना पक्राउ गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘रोकिएको दिन’ नाम दिइएको यो आन्दोलन बन्धक परिवार र शोकाकुल परिवारका दुई समूहले आयोजना गरेको हो । केही साताअघि हमासले कुपोषित बन्धकहरूको भिडियो सार्वजनिक गरेपछि इजरायलले गाजा सिटी कब्जा गर्ने सैन्य योजना अघि बढाउने घोषणा गरेको थियो । उक्त घोषणाले दुई वर्षअघि अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका र अझै जीवित ठानिएका बन्धकहरूको जीवन थप खतरामा पर्ने डरले पीडित परिवार समूहले यो आन्दोलन शुरू गरेको बताइएको छ । हमासले बन्धक बनाएकामध्ये करिब २० जना अझै जीवित रहेको र करिब ३० जनाको लास हमासले कब्जामा राखेको इजरायलको अनुमान छ ।
यसैबीच इजरायलमा झण्डै २० वर्षदेखि बस्दै आउनुभएकी समाजसेवी सुनिता गुरुङले आज भएको प्रदर्शनमा हमासको बन्धकमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि दबाब सिर्जना गर्न इजरायल सरकारको प्रायोजनमा इजरायल पुग्नुभएका विपिनकी आमा र बहिनी सहभागी नभएको जानकारी दिनुभयो । उहाँले नेपाल समाचारसँग कुरा गर्दै भन्नुभयो– ‘आज उहाँहरू हड्तालमा जानु भएको छैन । यहाँ तेल अभिभमा ४ बजेतिर साइरन बजेको थियो । साइरन बजेपछि बंकरमा पस्नुपर्छ । मैले पुष्पा बहिनीलाई पनि सर्तक गराउन फोन गरेको थिएँ, त्यही बेलामा कुराकानी भएको थियो । उहाँहरू आज बाहिर जानुभएको छैन ।’
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरूको तत्काल रिहाइको माग गर्दै हमासले इजरायलको सबै माग पूरा नगरेसम्म युद्ध अन्त्य नहुने अडान दोह¥याउनुभएको छ । उहाँले आइतबारको प्रर्दशनलाई संकेत गर्दै भन्नुभयो– ‘जो आज हमासलाई पराजित नगरी युद्धको अन्त्यको माग गर्छन्, उनीहरूले केवल हमासको स्थिति बलियो बनाउनुका साथै बन्धकहरूको रिहाइ ढिला गरिरहेका मात्र छैनन्, अक्टोबर ७ को भयावह घटना दोहरिने कुरालाई पनि सुनिश्चित गरिरहेका छन् ।’
आफ्नो गठबन्धनभित्र विद्रोहको सम्भावनाले सताएको अवस्थामा इजरायलका प्रधानमन्त्री यतिखेर विभिन्न दबाबको सन्तुलन मिलाउन बाध्य देखिनुहुन्छ । यसअघि इजरायलले पछिल्लो पटक बन्धक रिहाइका लागि आन्तरिक युद्धविराममा सहमति जनाउँदा मन्त्रिपरिषद्का चरम दक्षिणपन्थी सदस्यहरूले नेतान्याहुको सरकार गिराउने धम्की दिएका थिए ।
हामी नेपाल फर्के पनि विपिनलाई नबिर्सनुहोस् : पुष्पा जोशी
इजरायलको भ्रमणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले तेल अभिभको होस्टेज स्क्वायरमा शनिवार साँझ आयोजित सभामा सहभागिता जनाउँदै विपिनलाई नबिर्सन अनुरोध गर्नुभयो । उक्त सभामा पुष्पाले भावुक हुँदै प्रार्थनामात्र पर्याप्त नभएको जिकिर गर्दै रिहाइको लागि सहयोग गर्न सबैलाई आग्रह गर्दै आफूहरू नेपाल फर्के पनि विपिनलाई नबिर्सन आग्रह गरेको सोही कार्यक्रममा सहभागी तेलअभिभस्थित नेपाली समाजसेवी सुनिता गुरुङले बताउनुभयो । उहाँले पुष्पाले नेपाली भाषामा पनि भाइलाई सम्बोधन गर्दै ‘दाइ, म तिमीलाई धेरै मिस गर्छु, आशा नछोड, मजबुत बन, जीवित रह ।’ भन्दै गरेको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ ।











प्रतिक्रिया