वीरताको प्रतिकका रुपमा लिइने रणउजीरेश्वरी भगवतीको रथयात्रा उल्लासमय वातावरणमा जात्रा मनाइदैे

846
Shares

पाल्पा ।

बीरताको प्रतिकको रूपमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको रथयात्रा आज आइतवार तानसेनमा निकालिदैछ । यस क्षेत्रमा भगवती जात्राको रुपमा परिचित रथयात्रालाई बिजयको खुशीयालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रुपमा चिनिन्छ ।

नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ । विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा यस वर्ष २ सय ६ औं वर्ष संस्करणको रुपमा यस वर्षको भगवती जात्रा निकालिदैछ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै अहिले सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आइएको हो ।

अंग्रेज सँगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ । राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा पनि लिइन्छ । घरेलु हात हतियार, सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिहं थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए । विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन भगवतीको रथजात्राको सञ्चालन हुँदै आएको छ । जात्राको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताउनुभयो ।

विजयोत्सवमा सहभागि हुन यसपटक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्री पाण्डे, लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका मन्त्रीहरु, नेपाली सेनाका प्रधानसेनापति सहित विशिष्ट व्यक्तिहरु पाल्पा आउनुहुने भएको छ । यसका साथै पाल्पाबाट निर्वाचित संघीय सांसद, लुम्विनी प्रदेशका सभामुख, लुम्विनी प्रदेशका सदस्यहरु ल्गायत विशिष्ट व्यत्तिहरुको जात्रामा सहभागिता रहने छ ।

जात्रामा जिल्लाका विशिष्ट व्यक्ति,वुद्धिजीवी, व्यापारी, शिक्षक, विद्यार्थी लगायत छिमेकी जिल्लाका मानिसहरुको समेत उपस्थिती र सहभागिता रहन्छ ।

विजयोत्सवको भगवती रथलाई तोकिएको शुभ साइतमा उठाइने र दिनभरी तानसेन बजार घुमाउने बेलुका ६ बजे भित्र विसर्जन गर्ने कार्यक्रम रहेको भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ। ।

यस अघि शनिवार राती जाग्राम वस्ने र अन्य धार्मिक क्रियाकलपाहरु सम्पन्न भएका छन । भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमी साँझदेखि नै जाग्रामबसी नवमीको दिन दिउँसोस्थानीय भगवती मन्दिरदेखि रथयात्रा सुरु गर्ने गरिन्छ । रथयात्रा निकालेपछि तीनपटक मन्दिरको परिक्रममा गर्ने , मानिसकले वोकेरे रथलाइ निश्चित रुट अनुसार परिक्रमा गराउने गरिन्छ । तानसेन नगरका विभिन्न स्थानहरूमा भोग, बली र फूल प्रसाद ग्रहण गरी साँझ : मन्दिरमै बिसर्जन गर्ने परम्परा छ । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शिक्षण संस्थाका विद्यार्थी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्थानीय नरनारी भक्तजनहरू उल्लासमय वातावरणमा जात्रामा सहभागि हुन्छन । जात्रा हेर्नकै लागि भनेर मंगलवार पाल्पा जिल्ला र छिमेकी जिल्लावाट ठूलो संख्यामा भक्तजनहरु सहभागि हुन्छन । यस अवसरमा भगवतिको जयजयकार गरिन्छ भने । यस अवसरमा तानसेनमा ठूलो मेलाको रौनक देखिन्छ ,


विजयोत्सवको अवसरमा पाल्पामा सार्वजनिक बिदा

विजयोत्सव भगवती रथ यात्रामा सबै पक्षको सहभागिता बढाउन लुम्बिनी प्रदेश सरकारले भदौ १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला मन्त्रालयले पाल्पामा मनाइने विजयोत्सव भगवती रथ यात्रा राष्ट्रियता जगेर्ना गर्ने राष्ट्रिय दिवस भएकोले विगत केही वर्षदेखि नै सार्वजनिक बिदा दिँदै आएको छ ।

विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवाद लाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा बिजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ ।

धार्मिक तथा सांस्कृतिक परम्पराहरुले समुदायमा एकताको भावनाको विकास गराउने विभिन्न जात, धर्म र समुदायका मानिसहरुमा एउटै परम्परामा सहभागी हुने भएकाले यस पर्वको विशेष महत्व र गरिमा रहेको यस क्षेत्रका वासिन्दाको भनाइ छ ।