काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री ओली भदौ १४ गते चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय वार्ता गर्ने तयारी भएको छ । यसअघि पनि ओली र सीबीच बहुपक्षीय सम्मेलनहरूमा भेटघाट भए पनि यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध विस्तारको अवसरका रूपमा लिइएको छ ।
त्यसपछि प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीजिनफिङले उद्घाटन गर्ने सांघाई कोअपरेसन सम्मेलनमा सहभागी हुन सांघाई जान हुने कार्यक्रम रहेको छ ।
रोचक कुरा के छ भने, यसपटक सांघाई कोअपरेसन सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने कार्यक्रम तय भएको छ । उच्चस्तरीय सम्मेलनकै क्रममा ओली, सी र मोदी एउटै मञ्चमा देखिने सम्भावना रहेको स्रोतले जनाएको छ ।
सरकारका एक अधिकारीले भने– ‘यो भ्रमणले दुई ठूला छिमेकीसँग नेपालको सन्तुलित सम्बन्धको सन्देश दिने छ ।’ परराष्ट्र मन्त्रालयले भने औपचारिक कार्यक्रम तालिका अझै सार्वजनिक नगरेको बताउँदै तयारी तीव्र भइरहेको जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओली चीन भ्रमणपछि भारत भ्र्रमण गर्ने तयारी शुरू भएको छ । यस पटकको भारत भ्रमणका क्रममा के के एजेन्डा उठाउने भन्ने विषयमा सरकारी स्तरमा छलफल शुरू भएको छ । प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतका विदेश सचिव गौतम मिश्री भदौ १ गते प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिन नेपाल आउन लाग्नु भएको छ । उहाँले निमन्त्रणा दिएपछि भारत भ्रमणको एजेन्डा तय हुने सरकारी स्रोतले जानकारी दिएको छ ।











प्रतिक्रिया