कामदार पठाउने प्रलोभनमा ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं ।

होटलमा आवश्यक पर्ने कामदार पठाउने प्रलोभन देखाई रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ साउने घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका–६ बोडे बस्ने पुरुषोत्तम पराजुलीले काठमाडौंको चावहिल पिपलबोटस्थित पपुलर जब सोलुशन कम्पनी सञ्चालन गर्दै आएका थिए। उनले विज्ञापनमार्फत होटलमा कामदार पठाइदिने भनी पीडितबाट अग्रिम रकम लिएको तर कामदार नपठाई रकम समेत फिर्ता नगरेको उजुरी परेको थियो।

उक्त सूचना प्राप्त भएपछि खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले पराजुलीलाई बुधबार मध्यपुर थिमी–६ बोडेबाट पक्राउ गरेको हो।

पक्राउ परेका पराजुलीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।